सभामुख निर्वाचन माघ १२ मा, मंगलबार उम्मेदवारी दर्ता
प्रकाशित २०७६ माघ ६ सोमबार
539
Shares
काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गतेका दिन हुने भएको छ। प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराएका हुन्।
उनले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिए । ज्येष्ठ सदस्य ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजिनामा पढेर बैठकलाई जानकारी गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १२ गते अपरान्ह ३ बजे बस्नेछ ।
मंगलबार उम्मेदवारी दर्ता
सङ्घीय संसद् सचिवालयले आजै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार मंगलबार सभामुख पदका लागि उम्मेदवारी दर्ता हुनेछ । संसद् भवनमा बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने छ । मंगलबार अपराह्न २:३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।