रविसँगै नियन्त्रणमा परेकी अस्मिताले यसरी दिइन् निमालाई धन्यवाद
शालिकराम पुडासैनी मृत्यु प्रकरणका सबैले पाए सफाइ
प्रकाशित २०७६ माघ ६ सोमबार
361
Shares
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा संचारकर्मी रवि लामिछाने, युवराज कँडेलसँगै पक्राउ परेकी स्वास्थ्य परिचारिका अस्मिता कार्की (रुकु) ले सफाइ पाएका छन् ।
न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार अन्तिम फैसला गर्दै रविसहित उक्त आत्महत्या अभियोगमा मुद्दा चलाइएका तीनै जनाले सफाइ पाएका हुन् ।
पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा उनीविरुद्ध मुद्दा चलेको थियो । अदालतले आत्महत्या दुरुत्साहनको अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा गत साउन ३१ गते लामिछाने र कँडेल न्यूज २४ टेलिभिजनकै परिसरबाट पक्राउ परेका थिए । अस्मिता पनि काठमाडौंबाटै सोही दिन पक्राउ परेकी थिइन् ।
त्यसपछि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । अस्मिता साधारण तारेखमा छुटेकी थिइन् ।
अधिवक्ता निमा गिरीको अस्मितालाई साथ
अस्मिता कार्कीले आफ्नो पक्षमा वकालत गर्ने वकिल नपाएको कुरा सार्वजनिक भएपछि अधिवक्ता निमा गिरीले उनको पक्षबाट वकालत गर्ने बताएकी थिइन् ।
परिवारका सदस्यहरु पनि अस्मिताबाट टाढा रहनुपर्ने अवस्था नरहेको भन्दै गिरीले उनको पक्षबाट अदालतमा आफूसहितको अधिवक्ताहरुको टीम निःशुल्क वकालत गर्न तयार रहेको बताएकी थिइन् ।
त्यसपछि निमाले निरन्तर अस्मिताको मुद्दामा लड्दै गइन् । र सफलता पनि हासिल गरिन् ।
रवि लामिछाने र युवराज कँडेलको पक्षमा वरिष्ठ अधिवक्ता शुसिल पन्त, सुनिल पोखरेल सहितका अधिवक्ताहरुले वकालत गरेका थिए ।
तर सोही प्रकरणमा पक्राउ परेर हिरासतमा रहेको अवस्थामा अस्मिताले वकिल पाएकी थिइनन् । अनि गिरीले साथ दिएकी थिइन् ।
त्यतिबेला चर्चामा आउने राम्रो बहाना खोजेको भनेर निमामाथि आरोप पनि लाग्यो । उनले सच्चा मनले आफूले उक्त निर्णय गरेकी थिइन् ।
निमाप्रति आरोप भन्दा सद्भाव राख्नेहरु बढी भए । त्यसपछि उनको मनोवल पनि बढ्यो । उनले निःशुल्क लडिन् र अन्ततः आइतबार अस्मितालाई न्याय दिलाएरै छाडिन् ।
आफ्नो जित भएपछि निमालाई धन्यवाद दिँदै फेसबुकमा यसो लेखिन् अस्मिताले –
‘मेनी मेनी थेङ्क्यु सो मच दिदी एन्ड लभ यु टु मच । न्यायको पक्षको निम्ति त्यस्ता व्यक्तिले आफू भाइरल हुनको लागि मात्र मन लागि इन्टरभ्यु दिएर आफू चर्चामा आए केही टाइमको लागि मात्र । तर तपाईले फाइनल सम्म चोखो मनले निरन्तरता दिइ अन्तिम न्याय प्राप्त भएकोमा अहर्टली थ्यांक्यू सो मच दि एन्ड सबै मेरा सुभचिन्तकहरु जो ले मलाई विभिन्न समयमा साथ दिनुभयो सबैलाई हृदय देखि नमन छ । दुःख नै मेरो लागि जिन्दगी हो । त्यहाँ सुखको संसार भए पनि दुःख नै मेरो लागि जिन्दगी हो । त्यहाँ सुखको संसार भए पनि दुःख नै मेरो लागि जिन्दगी हो । त्यहाँ सुखको संसार भए पनि दुःख नै मेरो लागि जिन्दगी हो । त्यहाँ सुखको संसार भए पनि पनि भए पनि भए पनि’
रवि लामिछानेले पनि ट्वीटरमार्फत धन्यवाद दिएका छन्– ‘सम्मानित अदालत प्रति बिश्वास थियो, छ, रहिरहने छ। आफुले जितेकोमा भन्दा जाल, झेल, प्रपन्च गरि निर्दोषलाई फसाउने षड्यन्त्रकारीहरुलाई न्यायीक संरक्षण नहुने कुरा स्थापित भएकोमा झनै खुशी छु। हाम्रा लागि न्याय माग्नु हुने सबै, सबैलाई धन्यवाद सहित सम्झन चाहन्छु। तपाईंको बिश्वास त मरेपनि मर्न दिन्न ।’
किन पक्राउ परेका थिए रवि, युवराज र अस्मिता
मृतक संचारकर्मी पुडासैनीले आफ्नी श्रीमतीको दुर्घटनामा परी निधन भएको झुटो कुरा भनेर प्रेमजालमा पारेपनि पछि सत्य तथ्य थाहा पाएपछि सम्बन्ध तोडेको बताएकी अस्मितालाई आफ्नो सुसाइड भिडियो सन्देशमा उनले आरोप लगाएका थिए।
पुडासैनीले आफ्नो आत्महत्यामा रवि, युवराज र अस्मितालाई आरोपित गरेका थिए। सोहि आरोपका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइ आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।
त्यसपछि धरौटी र तारेखमा उनीहरुलाई छाडिएको थियो । आइतबार माघ ५ गते उनीहरुको मुद्दामा फैसला भइ न्याय पाएका हुन् ।
एउटै मुद्दामा अस्मिताले वकिलसमेत नपाएपछि निमाले दिएको साथ पनि स्मरणीय नै हुनेछ ।