काठमाडौं । उद्घाटनको साँढे सात महीनापछि नारायणहिटी दरबार सङ्ग्रहालयमा निर्माण गरिएको गणतन्त्र स्मारक सञ्चालनका लागि हस्तान्तरण भएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले बनाएको स्मारक गत जेठ १५ गते गणतन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । स्मारक हस्तान्तरण गरिए पनि तयारीका काम बाँकी रहेकाले विसं २०७७ जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा मात्र सर्वसाधारणका लागि खुला गरिने छ ।
स्मारक सञ्चालन गर्ने संस्थाले निर्माण सम्बन्धी व्यवस्था गर्दा हस्तान्तरणमा ढिलाइ भएको जनाएको छ । गत मङ्सिर ९ गतेको मन्त्रिपरिषद् बैठकले नारायणहिटी दरबार सङ्ग्रहालय तथा स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति गठन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले स्मारक समितिलाई सञ्चालनका लागि दिने निर्णय पनि गरेको थियो । शहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटा र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा विभागका महानिर्देशक मणिराम गेलालले स्मारक व्यवस्थापन एवं सञ्चालनका लागि समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई हस्तान्तरण गरे ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका शहरी विकासमन्त्री बाँस्कोटाले स्मारकमा लोकतान्त्रिक गणतन्त्रका लागि लाग्ने सबैको योगदानको इतिहास सुरक्षित हुनुपर्ने बताए । गणतन्त्र स्थापनाको इतिहास वर्तमान पुस्ताबाट भावी पुस्तासम्म पु¥याउन स्मारकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । मन्त्री बाँस्कोटाले भने, “गणतन्त्रलाई जीवन्त बनाउन देशको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गरिनुपर्छ, लडेर ल्याएको व्यवस्था संरक्षणका लागि जनता आफैँ लाग्नुपर्छ, स्मारकलाई आम्दानीको थलोका रुपमा पनि विकास गरिनुपर्छ ।”
काठमाडौँ आउने पर्यटकलाई स्मारक समेत घुमाउने गरी गन्तव्यका रुपमा विकास गरिनुपर्नेमा जोड दिदैं उनले नारायणहिटी दरबार सङ्ग्रहालय र स्मारक जोड्न इच्छुमती (टुकुचा) मा पुल हालिदिने प्रतिबद्धता समेत व्यक्त गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षको महत्वपूर्ण गन्तव्यका रुपमा स्मारकलाई विकास गरिने बताए । “स्मारक, नारायणहिटी दरबार सङ्ग्रहालय र केशरमहललाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने गरी कार्ययोजना ल्याउने तयारीमा मन्त्रालय लागेको छ”, उनले भने, “निर्वाचित जनताका प्रतिनिधिले घोषणा गरेको गणतन्त्रलाई पूर्वराजाले समेत स्वीकार गर्नुभएकाले यहाँको मौलिक स्वरुप विश्व समुदायका लागि अध्ययनको विषय हुनसक्छ ।”
मन्त्री भट्टराईले अन्य देशमा गणतन्त्र स्थापनाका लागि हुने आन्दोलनमा धेरै मानिसले जीवन गुमाउने गरी युद्ध हुने गरेपनि नेपालमा शान्तिपूर्ण रुपमा परिवर्तन भएकाले स्मारक महत्व हुने बतए ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सांस्कृतिक शहर काठमाडौँको गणतन्त्र स्मारक पर्यटक तान्ने केन्द्र बन्नुपर्ने उल्लेख गर्दै भ्रमण वर्ष चलिरहेकाले एक महीनामै तयारी पूरा गरी पर्यटक बढाइनुपर्नेमा जोड दिनुभयो ।
शहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीले स्मारक र दरबार सङ्ग्रहालयलाई जोड्न टुकुचामा पुल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्दै नेपालीको बलिदानीको इतिहासका रुपमा स्मारक निर्माण भएकाले यसलाई पर्यटक आकर्षित गर्ने स्थलका रुपमा विकास गर्न सकिने बताए ।
संस्कृति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले इतिहास र वर्तमान जोड्ने कडीका रुपमा रहेको स्मारकलाई मूर्त, अमूर्त सम्पदा स्थलका रुपमा अघि बढाइने बताउँदै दरबार सङ्ग्रहालय जोड्ने पुल र पार्किङ स्थल बनाउन विभागको सहयोग आवश्यक रहेको छ भने ।
समितिका कार्यकारी निर्देशक दाहालले स्मारक र सङ्ग्रहालयलाई अन्तरराष्ट्रिय स्तरबाटै पर्यटक आउने गरी विकास गरिने बताए । शहीद दिवस, विदेशी उच्चस्तरीय पाहुनाले शहीदलाई श्रद्धाञ्जलि दिने, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायतले शपथपछि शहीदप्रति श्रद्धाञ्जलि दिने स्थलका रुपमा अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
विभागका महानिर्देशक गेलालले स्मारकका बाँकी पूर्वाधारका काम गर्न पनि प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाए । विसं २०६८ मा शिलान्यास भएको स्मारक रु ४४ करोड ९१ लाखको लागतमा निर्माण भएको हो । स्मारकमा चार स्तम्भ छन् । पहिलो स्तम्भ हराएका, दोस्रो ज्यान गुमाएका, तेस्रो बेपत्ता भएका र चौथो स्तम्भ अङ्गभङ्ग भएकाको सम्झनामा तयार गरिएको हो । नेपालमा गणतन्त्र स्थापनाको चिर स्मरणका लागि आर्थिक वर्ष २०६५-२०६६ को बजेट वक्तव्यमै घोषणा गरिएको थियो ।
घोषणा अनुरुप विभागले डिजाइन प्रतिष्पर्धा गराई स्मारकको स्वरुप तयार पारेको हो । स्मारक घोषणा भएको दशक नाघिसक्दा समेत कस्तो बन्यो भनी हेर्न नपाएका सर्वसाधारणले यसको प्रतीक्षा गरिरहेका छन् । नारायणहिटी दरबारमै गणतन्त्र स्मारक बनेकाले पनि हेर्ने धेरैको धोको छ ।