arrow

हल्लाको पछि नलाग्न मन्त्री भट्टराईको आग्रह

नाट्टा नेतृत्वका लागि तीन समूह प्रतिस्पर्धी

logo
रासस,
प्रकाशित २०७६ माघ ३ शुक्रबार
yogesh-bhattrai3.jpg

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा पर्यटकको सुरक्षामा कुनै कमजोरी नरहेको बताएका छन् । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)को ५३औँ वार्षिक साधारणसभाको शुक्रबार यहाँ उद्घाटन गर्दै  मन्त्री भट्टराईले सशस्त्र द्वन्द्वका बेलामा समेत पर्यटकले सुरक्षा चुनौती बेहोर्नु नपरेको स्मरण गराउँदै हल्लाको पछि नलाग्न आग्रह गरेका छन्  ।

नेपाल भ्रमण वर्षको विश्वभर प्रभाव परेको र यसले थप उत्साह तथा हौसला बढाएको बताए। पर्यटकको सहजताका लागि बालाजुमा पर्यटक बसपार्क निर्माणको तयारी गरिएको तथा सन् २०२० भित्रै पोखरामा पर्यटक बसपार्क सञ्चालनमा ल्याउने योजना सुनाए । उनले स्वदेशसहित विश्वभर एकसाथ भ्रमण वर्षको उद्घाटनले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न थप सहयोग पुगेको उल्लेख गरे।

मन्त्री भट्टराईले भ्रमण वर्षका दौरानमा नेपालको पूर्वाधार तथा सेवाका सन्दर्भमा नकारात्मकभन्दा सकारात्मक पक्षलाई जोड दिन आग्रह गर्दै पर्यटकीय पूर्वाधार विस्तारसँगै सेवाको स्तरीकरणमा विशेष ध्यान दिइने बताए । उनले पर्यटनलाई देशका हरेक कुनासम्म जोड्न देशभरका ५३ वटै विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालन गरिने बताए ।

एक वर्षभित्र दुई अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने र मुलुकको उड्डयन क्षेत्रमा सहजता आउने उनको भनाइ छ । उनले आगामी मे महिनासम्म निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल व्यावसायिक सञ्चालनमा आउने र पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल एक वर्षभित्रै सञ्चालन गर्ने गरी निर्माण कार्य तीव्र पारिएको जानकारी दिए ।

सन् २०२० देखि २०३० सम्म पर्यटकको दशकका रुपमा मनाएर अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धनका साथै पूर्वाधार निर्माणमा केन्द्रित हुने उनको भनाइ थियो । नाट्टाको अध्यक्षका प्रत्यासी भीमप्रसाद पन्तका अनुसार जारी साधारणसभामा अहिले बन्द शत्र चलिरहेको छ । अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत पश्चात निर्वाचन प्रक्रिया शुरु हुनेछ ।

नाट्टा नेतृत्वका लागि तीन समूह प्रतिस्पर्धी
नाट्टाको निर्वाचनबाट हुने नयाँ नेतृत्वका लागि तीन अलगअलग समूह चुनावी प्रतिस्पर्धामा छन् । अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाईं,  पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

गुरागाईं समूहको वरिष्ठ उपाध्यक्षमा यज्ञमूर्ति आचार्य, उपाध्यक्षमा तारा बाँस्तोला, महासचिवमा राकेश धमला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा पासाङदावा शेर्पाले उम्मेदवारी दिनुभएको छ । त्यस्तै कार्यसमिति सदस्यमा सुवास महर्जन, पर्शुराम घिमिरे, प्रमोद दाहाल, नवराज भेटवाल, शरदकुमार दाहाल र रमेश थापाले प्रतिस्पर्धा गर्दैछन्।

 पन्त समूहबाट वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल, सचिवमा जस्विन तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ र सहकोषाध्यक्षमा युविका भण्डारीको उम्मेदवारी दिएका छन्। कार्यसमिति सदस्यमा सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु खत्री, लक्ष्मी कार्की अधिकारी, चुँडाबहादुर जिम्बा, गीता अधिकारी, डेण्डी शेर्पा र रामसोभित नायकको उम्मेदवारी परेको छ ।

अध्यक्षको प्रत्याशीका रुपमा नाट्टाका पूर्वमहासचिव धाख्वा चुनावी प्रतिस्पर्धामा छन् । उनको समूहमा वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिव कमला गुरुङ, सचिव अमृत ढकाल, कोषाध्यक्ष देवकी गुरुङ र सहकोषाध्यक्षमा फुदोमा शेर्पा रहनुभएको छ । कार्यसमिति सदस्यमा विजय राई, सुजिता गजमेर, विष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजङ्ग पाण्डे, सिर्जना महर्जन र राजकुमार देवकोटा छन् ।

आगामी दुईवर्षे कार्यकालका लागि हुने नाट्टा निर्वाचनले पदाधिकारी तथा सदस्यसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जम्मा १७ सदस्य कार्यसमितिमध्ये थप दुई सदस्य मनोनित गरिनेछ । निर्वाचनमा कूल ४९८ मतदाता छन् । नाट्टाको विराटनगर, पोखरा, लुम्बिनी र पाल्पामा शाखा कार्यालय रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ