नेकपा-राजपा तालमेल कमजोर बनाउन निधि र यादव तराईका कार्यक्रममा
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष २८ सोमबार
442
Shares
जनकपुरधाम । सातै प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचन भइरहदा प्रदेश नम्बर दुईले भने सबैको ध्यान खिचेको छ । दुई वर्षअघि राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम) सँग सहकार्य गरेर चुनाव लडेको राजपा नेकपातर्फ ढल्केपछि प्रदेश नम्बर दुईमा राष्ट्रियसभा निर्वाचनका थप चासोको विषय बनेको छ ।
राष्ट्रियसभामा रिक्त हुने पदका लागि आगामी ९ माघमा निर्वाचन हुँदैछ। प्रदेश नम्बर दुईमा चारजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भइरहेको हो । चुनावमा सत्तासीन नेकपाले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाली कांग्रेसले केही दिनअघि मात्र सरकारबाट बाहिरिएको समाजवादी पार्टीसँग तालमेल गरेको छ ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि दुई दिनदेखि जनकपुरमा रहेका छन्। उपसभापति निधिले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुसँग भेटघाट र छलफललाई तिव्रता दिएका हुन् । जनकपुरधाममा मतदाताहरुसँग भेटघाट र छलफल गरेका उनी आइतबार महोत्तरीको बर्दिवासमा भेटघाटमा जुटेका छन्।
प्रदेश नम्बर दुईमा समाजवादी र राजपा गठबन्धनको सरकार रहेको छ। तर राष्ट्रियसभा निर्वाचनमा दुबै दल आमनेसामने छन् । राष्ट्रियसभा सदस्य निर्वाचन नजिदिकैं जाँदा दलका शीर्ष नेताहरु आ–आफ्नो गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन विभिन्न किसिमका कार्यक्रम गरिरहेका छन् ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत उपस्थित बर्दिवास भेलामा प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतका साथै दुबै दलका प्रदेशसभा सदस्य तथा स्थानीय तहमा दुबै पार्टीबाट प्रतिनिधित्व गर्ने अध्यक्ष-उपाध्यक्ष, मेयर-उपमेयर सहभागी भएका हुन् ।
कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति निधिले वर्तमान कम्युनिष्ट सरकार प्रदेशलाई अधिकारविहीन बनाएर संघीयतालाई धरापमा पार्नेतर्फ उद्यत रहेकोले पनि संघीयता पक्षधर गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन अपिल गरेका छन ।
संख्याका हिसाबले चारवटा सीट थोरै देखिए पनि संघीयता र लोकतन्त्रको लागि महत्वपूर्ण रहेकोले एकजुट भएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरे।
त्यस्तै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकार संविधान संशोधनतर्फ थोरैपनि गम्भीर नदेखिएका बताए । संविधान संशोधन र संघीयता जोगाउनपनि कांग्रेस–समाजवादी गठबन्धन उम्मेदवारको पक्षमा मतदाताहरुले मतदान गर्ने विश्वास व्यक्त गरे।
प्रदेश नम्बर दुईमा नेकपा–राजपा गठबन्धन मजबुत स्थितिमा देखिएपनि कांग्रेस र समाजवादी पार्टीले आफ्नो गठबन्धनका उम्मेदवार राष्ट्रियसभा निर्वाचनमा निर्वाचित हुने दाबी गरे।
राष्ट्रियसभा सदस्यका लागि कांग्रेसबाट भोला पञ्जियार र नगिनादेवी यादव, समाजवादी पार्टीबाट रामपृत पासवान र अनिरुद्ध सिंहले टिकट पाएका हुन् । त्यस्तै राजपाबाट मृगेन्द्रसिंह यादव र शेखर सिंह चुनावी मैदानमा रहेका छन्। र नेकपाबाट राधेश्याम श्रेष्ठ र तुलसा दाहाल चुनावी मैदानमा रहेका हुन् ।