राष्ट्र र राष्ट्रियताबारे बुझ्न पृथ्वीनारायणको चरित्र बुझ्नुपर्ने
रासस,
प्रकाशित २०७६ पुष २७ आइतबार
891
Shares
चिप्लेढुङ्गा। राष्ट्र र राष्ट्रियता भनेको के हो भनेर बुझ्न पृथ्वीनारायण शाहको चरित्र बुझ्नुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन्। दुई सय ९८औं पृथ्वीजयन्ती तथा एकता दिवस २०७६ का अवसरमा विश्व हिन्दू महासङ्घले आज आयोजना गरेको कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक एवं ब्राम्हण समाज नेपालका केन्द्रीय अध्यक्ष नारायणप्रसाद अधिकारीले अबका नयाँ पुस्ताले राष्ट्र र राष्ट्रियतालाई माया गर्ने हो भने शाहको सिङ्गो जीवनचरित्र अध्ययन गर्नुपर्नेमा जोड दिए।
उनले भने, “यो अभियान नगरेको भए आज नेपाल हुने थिएन। विस्तारवादी साम्राज्यवादी अङ्ग्रेजहरुले आफ्नो साम्राज्यमा मिलाउँदै जाने अभियान थालेका सन्दर्भमा अब अस्तित्व हराउँछ भनेर पृथ्वीनारायण शाहले एकीकरणको प्रयास थालेका हुन्।”
कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष शङ्कर खरालले पछिल्लो समय आफ्नो राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिप्रति वितृष्णा, बेवास्ता र निरपेक्षता जुन बढ्दै गएको छ यसले राष्ट्रलाई कमजोर बनाउँछ भने। महासङ्घ कास्कीका अध्यक्ष पार्वता पौडेलले इतिहास बिर्सेर अघि बढ्न खोज्दा दुर्घटना हुन्छ भन्दै तत्कालीन समयमा शाहले खेलेको भूमिका र एकताको सन्देशलाई सदा स्मरण गर्नुपर्ने बताए। विद्यार्थी प्रवीणचन्द्र बरालले युवामा राष्ट्र र राष्ट्रियताप्रतिको भावना जगाउन पनि शाहको योगदानलाई उजागार गर्नुपर्नेमा जोड दिए।
विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको सो कार्यक्रममा शाहको शालिकमाथि हेलिकप्टरबाट पुष्पगुच्छा गरिएको महासङ्घ कास्कीका सचिव युवा ज्योतिषी कमल पौडेलले जानकारी दिए।