मिटरब्याजी राजपा केन्द्रीय सदस्य यादव प्रहरीको नियन्त्रणमा, आरोप शान्ति भङ्गको
श्याम परदेशी कारागारमै
हाम्रा कुरा
प्रकाशित २०७६ पुष २४ बिहिबार
894
Shares
काठमाडौं । शान्ति भङ्ग गरेको आरोपमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु यादवलाई पक्राउ गरेको छ ।
चर्को ब्याजमा पैसा लगानी गरेर ठगी गरेको भन्दै पीडित व्यक्तिले काठमाडौँमा आएर उजुरी दिएपछि गृहसचिवको आदेशमा शान्ति भङ्गको मुद्दामा यादवलाई हरिपुर नगरपालिकाबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।
शान्ति भङ्गको मुद्दामा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट बुधबार साँझ म्याद थप गराएर उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
काठमाडौंमा कसलाई भेटे पीडितले
पीडितले काठमाडौँ आएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेता नारायणकाजी श्रेष्ठ लगायतलाई भेटेपछि यादवलाई पक्राउ गर्न प्रहरीमाथि दबाब बढेको थियो ।
यादवले झण्डै दुईसय भन्दा बढी व्यक्तिलाई ऋण दिएर उनीहरुबाट चर्को ब्याज असुली गरेको पीडितहरुको गुनासो छ । उनीहरुले गुनासोसहित बुधबार महान्यायाधिवक्ताको कार्यालयमा उजुरी गरेका छन् ।
विभिन्न बहानामा जालझेल गरि करकापमा पार्दै जग्गा समेत खाइदिएको गुनासो पीडितको छ । ठगीएर आफुहरु घरबारविहीन भएको उनीहरुले गुनासो गरेका छन् ।
पीडित पक्षहरुको गुनासो सुन्दै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले आरोपीलाई कानुन बमोजिम कारबाही हुने बताएका छन् ।
उनले ठगिएका पीडित पक्षलाई लिखित रुपमा नजिकैको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गर्दै सम्पूर्ण नगद र जग्गाहरु समेत फिर्ता हुने आश्वासन दिए ।
यस्तो प्रकृतिका ठगीका घटनाहरु तराईमा निकै हुने गरेको बताउँदै महान्यायाधीवक्ता खरेलले जालझेलबाट बच्न सवैलाई सचेत रहन आग्रह गरे ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याइने बताए । यता कठघरामा उभ्याइने बताइरहँदा उनले सर्लाहीमा भने प्रहरी संयन्त्रलाई स्टयान्ड बाइ बनाइसकेका थिए ।
यादवलाई पक्राउ गरे पनि प्रहरीले अहिलेसम्म उनका सहयोगी सञ्जय साहलाई नियन्त्रणमा लिएको छैन । यादवसंगै साहले विभिन्न समयमा सर्वसाधारणलाई तमसुकमा सही छाप गर्न लगाएर अरबौ रुपैँया ठगी गरेका थिए ।
श्याम परदेशी पनि कारागारमै
यसअघि मिटरब्याजमा रकम लगाएको आरोपमा १५ भदौमा सर्लाहीका श्याम परदेशी पनि पक्राउ परेको थियो । पुर्पक्षको लागि परदेशी अहिले कारागारमा रहेको छ ।