जाडोमा कपडा अभावले विद्यालय नगाएका ५७ बालबालिकालाई अध्यक्षले दिए न्यानो कपडा
अहिलेसम्म बुझेको तलव भत्ताबाट गाउँपालिकाका अध्यक्षले दिए ५७ जना बालबालिकालाई न्यानो कपडा
प्रकाशित २०७६ पुष २२ मंगलबार
536
Shares
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले आफ्नो तलबभत्ताबाट स्थानीय गुंगा माविमा अध्ययनरत विपन्न बालबालिकालाई जाडोको न्यानो कपडा सहयोग गरेका छन् ।
अध्यक्ष बस्यालले गरिब, विपन्न परिवारका बालबालिका जाडोमा कपडा अभावले विद्यालय नियमित नजाने गरेको पाइएपछि नियमित विद्यालय जान हौसला दिन ५७ जनालाई न्यानो कपडा सहयोग गरेको बताए ।
“न्यानो कपडा अभावमा कोही पनि बालबालिका जाडोमा शिक्षाबाट वञ्चित नहुन् भनी न्यानो कपडा सहयोग गरेको हुँ, मैले अहिलेसम्म बुझेको तलव भत्ता सामाजिक क्षेत्रमा नै खर्चिएको छु”, अध्यक्ष बस्यालले भने । चिसोयाममा न्यानो कपडा विद्यालयमा नै आएर बालबालिकालाई प्रदान गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपेन्द्रप्रसाद खनालले धन्यवाद दिए ।
अध्यक्ष बस्यालले गाउँपालिकाको धार्मिक, पर्यटकीय क्षेत्रको विकास, विपन्न, बोेटे समुदायका बालबालिकाको पठनपाठन, गरिब, असहाय परिवारको औषधि उपचारमा सहयोग गर्दै आउनुभएको छ । आफूले पाएको तलवभत्ताबाट गाउँपालिकाकाभित्रका विपन्न वर्र्ग, गरिब, असहायलाई न्यानो कपडा, लामो समयसम्म आर्थिक अभावका कारण उपचार नपाई मृत्युसँग लडिरहेका असहाय बिरामीको औषधि उपचारमा खर्चिएका छन् ।
निर्वाचनका बेला जनताका घरदैलोमा पुगेर उनले आफूले पाउने तलबभत्ता सामाजिक क्षेत्रमा खर्चने वाचा गरेका थिए । आफूले पाउने सबै तलबभत्ता पाँच वर्षभित्रमा सामाजिक क्षेत्रमा मात्र खर्च गरी गाउँपालिकाभित्रका गरिबी हटाउन सहयोग पुग्ने उनको धारणा छ ।