नगर प्रमुख र प्रशासकीय अधिकृतमाथि तत्काल कार्वाही गर्न कांग्रेसको माग, कीर्ते काम गरेको खुलासा
प्रकाशित २०७६ पुष १८ शुक्रबार
762
Shares
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘भुते जिरो किलोबाट आयुर्वेद कार्यालयसम्मको एकीकृत वस्ती विकास तथा पूर्वाधार निर्माण योजनाको उपभोक्ता समिति निर्माण गर्दा कीर्ते काम गरेको खुलासा भएपछि यतिबेला यो विषय सबैको चासोको विषय बनेको छ ।
संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर– १ मा परेको यो योजनामा नगरपालिकाले कीर्ते गरि उपभोक्ता समिति निर्माण गरेको खुलासा भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेपाली कांग्रेसको छायाँ सरकार प्रमुख तीर्थराज भट्टराईको नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमा कारवाहीको माग गर्दै शुक्रबार ज्ञापन पत्र बुझाएका छन् ।
कीर्ते कागजात खडागरी विभिन्न व्यक्तिहरुको कीर्ते हस्ताक्षर गर्नेलाई पहिचान गरी प्रचलित कानुन बमोजिम कार्वाही गर्न कांग्रेस खोटाङले माग गरेको छ ।
संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरबाट योजना पर्नुभन्दा अगाडि नै मनोमानी ढंगले कीर्ते गरी उपभोक्ता समिति गठन गर्ने÷गराउनेलाई कार्वाही गर्न प्रशासन समक्ष माग गरिएको छाया सरकार प्रमुख भट्टराईले जानकारी दिए ।
३० लाख बजेटको यो योजना संघीय योजना कार्यान्वयन इकाई विराटनगरबाट मंसिर २३ गतेको च.नं. ४६० मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पत्र आएता पनि उपभोक्ता समिति भने नगरपालिकाले मंसिर ६ गते नै गठन गरेको पाईएको थियो ।
नगरपालिकाले गठन गरेको उपभोक्ता समितिमा कोषाध्यक्ष र अन्य पदमा राखिएका व्यक्तिको हस्ताक्षर वडा कार्यालयले गठन गरेको समितिमा बसेका व्यक्तिको कृते हस्ताक्षर गरि राखिएको पाईएको थियो ।
योजना परेपछि नगरपालिकाले वडा नम्बर–१ को कार्यालयलाई मंसिर ३० गते उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७६ को दफा ४ बमोजिम ७ दिन अगावै सूचना प्रकाशन गरेर उपभोक्ता समिति गठन गर्नलाई पत्रचार गरेको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईको हस्ताक्षरमा वडामा आएको उक्त निर्देशनात्मक पत्रलाई वडा कार्यालयले तत्काल कारवाही गरि सूचना प्रकाशित गरेर भवप्रसाद आचार्यको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरि नगरलाई सिफारिस गरेको थियो ।
नगरपालिकाको निर्देशन अनुसार वडाले गठन गरेको उपभोक्ता समितिलाई सिफारिस नदिई योजना परेको थाहा हुनु भन्दा अगाडि मंसिर ६ गते नै नगरकार्यपालिका सदस्य रमेश परियार र नगरपालिकाका कर्मचारी सिताराम खतिवडाको उपस्थितिमा युवराज आचार्यको अध्यक्षतामा बनेको ५ सदस्यीय उपभोक्ता समितिलाई बिराटनगरमा योजना सम्झौता गर्न पुस ९ गते नगरपालिकाले सिफारिस गरेको पाईएको छ ।
संघीय योजना कार्यान्वयन इकाई विराटनगरबाट मंसिर २३ गते आएको पत्रअनुसार वडा कार्यालयलाई मंसिर ३० गते उपभोक्ता समिति निर्माण गर्न निर्देशन गरेको नगरपालिकाले मंसिर ६ गते कसरी उपभोक्ता समिति निर्माण गर्न पाउँछ ? अनि त्यो उपभोक्ता समितिलाई योजना सम्झौताको लागि सिफारिस गर्न पाउँछ ? यो गम्भिर विषय हो ।
युवराज आचार्यको अध्यक्षतामा बनेको समितिको कोषाध्यक्षमा हिरा आचार्य चौहानलाई राखिएको र उनको किर्ते हस्ताक्षर गरी योजनाबाट गैर लाभ लिने र समाजलाई दमनमा राख्ने काम गर्न उक्साउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईलाई समेत कार्वाहीको माग राखेर प्रशासनमा बुझाईएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रलाई अध्ययन गरी प्रशासनले गर्न सक्नेसम्मको प्रकृया अगाडि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी टिकाराज पोखरेलले जानकारी दिएका छन् ।
तस्वीर – जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै कांग्रेसको छायाँ सरकारको टोली