मौसम बदलीले न्यूनतम तापक्रम बढ्यो, अधिकतम बढेन, यस्तो छ पूर्वानुमान
प्रकाशित २०७६ पुष १८ शुक्रबार
560
Shares
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसंगै न्यूनतम तापक्रम बढेको जनाएको छ । तर अधिकतम तापक्रम भने नबढ्दा चिसो उत्तिकै बढेको छ ।
वर्षा र हिमपातका कारण चिसो बढेको छ । महाशाखाले चिसो रहिरहने भएकाले सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।
वरिष्ठ मौसमविद् विभूती पोखरेलले देशैभर मौसममा बदली भइरहेको बताइन् । उनले देशका केही स्थानमा बर्षा भएको र शुक्रबार पनि वर्षा हुने बताइन् ।
अपरान्हदेखि काठमाडौं उपत्यकामा पनि वर्षा हुने उनले बताइन् । त्यस्तै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुने उनले बताइन् ।
पश्चिम न्यून चापिय प्रभाव रहेको र यो शनिबारसम्म रहने उनको भनाइ छ ।
कस्तो छ तापक्रम ?
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रममा क्रमशः वृद्धि हुँदै गएको छ । बिहीबारको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेकामा शुक्रबार ५ डिग्री पुगेको छ । अधिकतम तापक्रम भने बिहीबार १८ डिग्री रहेको थियो ।
जुम्लामा सबैभन्दा कम माइनस २.६ रहेको छ । यसअघि गत हप्ता माइनस ६.५ सम्म पुगेको थियो । बिहीबार न्यूनतम सबैभन्दा बढी ११ डिग्री धनगढी र सिमरामा रहेको थियो ।
अधिकतम तापक्रम सबैभन्दा बढी सिमरामा २७ तथा अधिकतम तापक्रम सबैभन्दा कम डडेलधुरामा ६ डिग्री रहेको थियो ।