गोकर्ण फरेस्ट रिसोर्टको निर्णय फिर्ता लिन ट्रान्सपरेन्सीको माग
प्रकाशित २०७६ पुष १५ मंगलबार
1k
Shares
काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गोकर्ण फरेस्ट रिसोर्टको करीब तीन हजार रोपनी जग्गा पुरानै कम्पनीलाई छ वर्ष अवधि बाँकी हुँदै थप गर्ने निर्णय फिर्ता लिन माग गरेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले आज विज्ञप्ति जारी गरी अवधि बाँकी हुँदै सार्वजनिक खरीद ऐन विपरीत निर्णय प्रक्रियामा संलग्न हुने पदाधिकारीलाई कडा कानूनी कारवाही गर्न माग गरेका हुन् ।
“नेपाल सरकारले नेपाल ट्रष्ट अन्तर्गतको गोकर्ण फरेष्ट रिसोर्ट र त्यसले चर्चेको करीब तीन हजार रोपनी जग्गा पुरानो सम्झौता अवधि २०८२ साउन मसान्तसम्म झण्डै ६ वर्ष बाँकी नै रहेको अवस्थामा अत्यन्त अपारदर्शी ढङ्गबाट हतार हतारमा पुरानै यति होल्डिङ्स प्रालिलाई थप २५ वर्षका लागि भाडामा दिइएको भन्ने विभिन्न सञ्चार माध्यमबाट प्रकाशित तथा प्रसारित समाचारप्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ”–विज्ञप्तिमा भनिएको छ ।
‘भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने’ सरकारको दाबीलाई यस्तो निर्णयले निरर्थक तुल्याएको ट्रान्सपरेन्सीले जनाएको छ । सार्वजनिक खरीद ऐनको ठाडो उल्लङ्घन गरी स्वस्थ प्रतिस्पर्धा बिना नेपाल ट्रष्ट स्थापना गर्दाको मूल मर्मविपरीत कुनै एउटा व्यापारिक प्रतिष्ठानसँग गुपचुपमा सम्झौता गरी राष्ट्रिय सम्पतिको दुरुपयोग गर्ने काम कुनै पनि तर्कका आधारमा असल नियतले गरिएको निर्णय हो भनेर विश्वास गर्ने आधार नदेखिएको अध्यक्ष रेग्मीले बताए ।