वृद्धा मारेर गरगहनासहित भागेका श्रीपाली फिल्म हल नजिकबाट पक्राउ
प्रकाशित २०७६ पुष १३ आइतबार
699
Shares
कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान बस्ने वर्ष ६७ का चिजा विकको हत्याको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा म्याग्दीको धवलागिरि गाउँपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–२५ मा मजदूरी गर्दै आएका वर्ष ३९ का खिमबहादुर श्रीपाली रहेका छन् ।
अनुहारका विभिन्न भागमा चोटपटकसहित कोठाभित्र कपडाले छोपिएको र घरको मूल ढोकामा ताल्चा लगाइएको अवस्थामा यही पुस ८ गते विकको शव फेला परेको थियो ।
वृद्धाको हत्यापछि गरगहना लुटेर फरार भएका अभियुक्त श्रीपालीलाई शनिबार तनहुँको व्यास नगरपालिका–२ उत्तरशिला फिल्म हल नजिकबाट पक्राउ गरी कर्तव्य ज्यान र चोरी डाँका मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।
अभियुक्त श्रीपालीले मृतकको साथबाट चोरी गरेका गहना बिक्री गरेको पसलबाट बरामद गरिएको र खरिद गर्नेलाई कानूनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।