कुलमान घिसिङ भन्छन् – ‘कसले भन्यो लोडसेडिङ हुन्छ भनेर हँ ?’
प्रकाशित २०७६ पुष १३ आइतबार
699
Shares
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुने कुनै कारण नै नभएको बताएका छन् । दिनानुदिन विभिन्न स्थानमा लामो समयसम्म लोडसेडिङ भइरहे पनि घिसिङले भने लोडसेडिङ नभएको बताएका हुन् ।
हाम्राकुरासंगको कुराकानीमा घिसिङले भने, ‘कसले भन्यो लोडसेडिङ हुन्छ भनेर हँ ? किन लोडसेडिङ हुन्छ ? लोडसेडिङ हुनुपर्ने कारणै छैन ।’
पटक पटक बत्ती गइरहेको भन्ने प्रश्नमा उनले भने, ‘बत्ती जानासाथ लोडसेडिङ हुन्छ र ? बत्ती त गइरहेको छ । ट्रान्सफर्मर जल्छ । हिजो पनि दुई वटा ट्रान्सफर्मर जलेर थपिरहेको छ । लोकल वितरणको समस्या हो के ।’
काठमाडौंमै गइरहेको छ नि पटक पटक बत्ती ? भन्ने प्रश्नमा उनले भने, ‘काठमाडौंमा धेरै लोड बढ्छ । लोड बढ्न बित्तिकै थप्दै जानुपर्छ । सप्लाइ नपुगेको भए पो लोडसेडिङ गर्ने हो नि । ट्रासफर्मर जल्यो यो गर्यो भने त थप्दै जाने हो नि ।’
लोडसेडिङ हुँदै हुन्न भन्दै घिसिङले अगाडि थपे, ‘एकछिन बत्ती गयो भने लोडसेडिङ भन्न मिल्छ र ? कहिलेकाहिं राति हाम्रो मान्छे पुग्न सक्दैन । रातभरि जान्छ । बिहान गएर बनाउनु पर्ने हुन्छ । सबैले एकैठाउँमा हिटर बाल्दा लोड नधानेको हुन सक्छ ।’
ट्रान्सफर्मर पुराना भएर समस्या भएको हो त ? भन्ने प्रश्नमा प्रवन्ध निर्देशक घिसिङले भने, ‘होइन भन्या हेत्तेरी कतै कतै ट्रान्सफर्मर त्यस्तो हुन्छ । सबै त्यस्तो हैन । हामीले थप्दै गएका छौं सबै । तारले जति बोक्छ त्यति न जान सक्छ । त्यो एरियामा तारले बोक्ने भन्दा बढी चाहियो भने त अर्को तार तान्न पर्यो नि । त्यो तान्ने कामहरु भइरा’हा हुन्छ हैन । थाहा हुँदैन नि कुनै कुनै ठाउँमा । जानकारी दिन्छ हैन । त्यसको समस्या हो । लोड बढेको हुनाले चिसो बढेको हुनाले हुन्छ त्यो । तर अहिले हामी धेरै अन्डरग्राउन्डदेखि लिएर ब्यापक सुधार गरिरहेका छौं । वितरणको समस्या हो के ।’