arrow

टुडिखेल अतिक्रमित हुनबाट किन बचाउने भन्ने बारे आचार्य निवासमा चर्चा

टुडिखेलको राजनीतिक, सामाजिक र सांस्कृतिक र पर्यावरणीय महत्वको बारेमा समेत चर्चा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ मंसिर ८ आइतबार
narahari-occupy-tudikhel.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा टुडिखेलको राजनीतिक र सामाजिक महत्व विषयमा चर्चा भएको छ । चर्चा कार्यक्रममा नरहरि आचार्यले पहिलाको टुँडिखेल अहिले ६ टुक्रा भएको बताए । २०१८ सालदेखि शुरु भएको टुडिखेलको प्लटिङ अहिले अतिक्रमित भइरहेको आचार्यले बताए। यतिखेर खुलामञ्च र सैनीक मञ्च पनि अतिक्रमित भइरहेको उनले बताए। 

२०१८ सालसम्म टुडिखेलमा खरिको रुख सहितको चौतारो थियो । त्यही चौतारामा सरकारी औपचारिक कार्यक्रम, महत्वपूर्ण घोषणाहरु हुन्थे । त्यस समयमा सैनीक मञ्च पनि बनेको थिएन, खुला मञ्च पनि बनेको थिएन । चन्द्र शमशेरले दासत्व मोचनको घोषणा पनि टुडिखेल खरिको बोटबाट नै गरेका थिए । ७० वर्ष पहिले टुडिखेल रानीपोखरीदेखि त्रिपुरेश्वरसम्म विशाल मैदान थियो । 

फेरि टुडिखेल काठमाडौंमा मात्रै सिमित रहेको थिएन । नेपाल राज्यको एकप्रकारले संस्कृति पनि टुडिखेल बनेको थियो । राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरेपछि १८–१९ सालतिर सैनीक मञ्च बनाएर खरीको बोटलाई हटाइयो । त्यसबेलादेखि सरकारी औपचारिक कार्यक्रम सैनीक मञ्चमा र जनताको कार्यक्रम खुलामञ्चमा हुन थालेको हो । पछि देशभरका सदरमुकामका सम्म जमिनलाई टुडिखेल भन्ने चलन बसेको समेत तथ्यहरुमा पाइन्छ। 

यति महत्वपूर्ण टुडिखेलको विषयमा हामी चुपचाप कसरी रहन सक्छौं भन्दै आचार्यले जनताको कार्यक्रम हुने ठाउँ टुडिखेल बचाउ कार्यक्रम सुरु भएकोमा ऐक्यवद्धता जनाए। आचार्यले टुडिखेलको भागवण्डा हुँदासम्म सबै चुप लागेपनि अति भएपछि अब चुपलाग्न छोडेको बताए । 

आचार्यले पहिलो चरणमा खुल्लामञ्चलाई खुला गर्ने, दोस्रो चरणमा अन्य अतिक्रमणलाई पनि ठाउँमा राख्नु पर्ने बताए। टुडिखेललाई टुक्राउने र बनाउने काम पंचायत कालमा भएको र अहिलेको भद्रगोल गराउने काम सबै दलको सरकार र गणतन्त्र आएपछि भएको उल्लेख गर्दै आचार्यले त्यसैले पनि यसलाई शुरुकै स्वरुपमा ल्याउन कांग्रेसले अग्रसरता लिनुपर्ने बताए । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जीतले काम गर्नुपर्ने सबै काठमाडौंबासीले तर काठमाडौंवासीले नेतृत्व नपाउने भएपछि समस्या आएको बताए। 
२०१७ सालमा खरीको बोटमा शैलजाहरुले भाषण गरेको भनेर खरीको बोट नै सिध्याएको उल्लेख गर्दै रञ्जीतले त्यही खरीको बोट अगाडि रेलको डब्बा छेउमा राणाजीहरु घुम्ने गर्थे, धरहराबाट ठूलो सिठी बजाए पछि सैनिकहरु सबै टुडिखेलमा जम्मा हुने गरेको स्मरण गरे । 

वाग्मती, विष्णुमती अकुपाई गरिदा पनि हामी सहेर नै बसेका उल्लेख गर्दै उनले यतिखेरको काठमाडौंमा पैसा पाएपछि जे पनि हुने जस्तो अबस्था आएको बताए । तलेजुमा साँस्कृतिक अनुरुप पुजाआजा ०६४ साल पछि नेकपाको सरकारले हटाएको उनले बताए । त्यसपछि यहाँको जनतामा आखा खुल्यो । संस्कृति, संस्कारमा जागरण पनि त्यसपछि नै आएको जनाउँदै उनले हाम्रो सभ्यता, संस्कृति गुठी माथि यही नेकपा सरकारले हस्तक्षेप जारी राखेको बताए । रञ्जितले भने, 'म सुन्धारामा नुहाउथे, भद्रकालीमा खेल्थे, सिंहदरवारमा दुध तरकारी लिएर घर जाने गर्थे । म सांसद भएर पनि सिंहदरवारसम्म हिडेरै गए, आफु केटाकेटी हुँदा खेलेको ठाउँ। नारायणहीटी, तीनधारामा पनि खुला जमीन थियो, यहाँ कोही छैनन् भनेर हेपेर त्यो पनि खाइदिए । टुडिखेलका विषयमा हामीले जे गर्न खोजेका छौं त्यसमा सबैको साथ हुन्छनै । जनतामा आक्रोश छ हामी सबै मिलेर काम गरौं ।' 

पूर्वरक्षामन्त्री भिमसेनदास प्रधानले टुडिखेल अभियान भन्दा अगाडि काठमाडौं महानगरपालिकाले जलेश्वर स्वच्छन्द प्रालीसँग बागबजारको बसपार्कमा रहेको जग्गामा विजनेश कम्प्लेक्स (काठमाडौं भ्यूटावर) बनाउने संझौता गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र र काठमाडौंको टुडिखेल वरपर ठूलो विल्डिङ बन्न हुँदैन भनेर अभियान चलाएको बताए। जनताले बस पार्कका लागि भनेर दिएको जग्गामा नगरपालिकाले दुरुपयोग गरेपछि विरोध गरिएको उनले बताए। अहिले बसपार्कबाट टुडिखेललाई बस पार्क सारिएको छ । यो २ वर्षमा सक्ने भन्ने उनीहरुको संझौता भएपनि ५ वर्ष वित्दा पनि संरचना केही नबनाई ठेकेदारले पसल राख्न भाडामा दिन थालेपछि सबै स्थानीयबासी उठेर विरोध गरेपछि भत्काइएको बताए । 

समयकालमा रानीको नाममा टुडिखेलको विचभागमा रानी पोखरी बन्यो । पछि शाहा–राणाको शासनकालमा टुडिखेलको खुला मैदानमा सितल निवास, सिंहदरवार, केशर महल, बहादुर भवन, शंकर महल, फोहोरा दरवार, लाल दरवार, बाग दरवार हुँदै पूर्वतर्फ बागमती पश्चिम तर्फ विष्णुमति र विचमा टुकुचाको मैदानमा यि सबै ४÷५ सय रोपनीमा दरवार बनेको तथ्य उनले राखे । 

२००७ सालताका रानीपोखरीदेखि त्रिपुरेश्वरसम्मको  टुडिखेललाई राजा महेन्द्रले अञ्चलाधिश विश्वमणी आचार्यलाई जिम्मा दिएपछि टुडिखेललाई टुक्रा पारेर रत्नपार्क, खुलामञ्च, सैनीक मञ्च, शहिदगेट, सैनीक सचिवालय, दशरथ रंगशाला बनाएर टुडिखेलको अवस्था यो भएको प्रधानले स्मरण गरे । उनले अबको अभियान टुडिखेलको साँस्कृतिक, धार्मीक र वातावरण बचाउने रहेको उल्लेख गर्दै टुडिखेल काठमाडौंको पानी रिचार्ज हुने ठाउँ पनि रहेको बताए । 

२०७०को संविधानसभामा निर्वाचित भएपछि काठमाडौं उपत्यका हामी जनप्रतिनिधिहरुले सार्वजनिक जमिनको संरक्षण, खानेपानी, ढल, वातावरण, उर्जा र सडकको विषयमा छलफल गरेर रिपोर्ट बनाएर प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको उनले बताए। त्यसपछि हामीले नारायण चौर बनायौं । काठमाडौं उपत्यकामा रहेका सार्वजनीक ठाउँहरुमा त्यस्तै चउर बनाउन हाम्रो अभियान लागिरहेको छ । अहिले दैनिकजसो टुडिखेलका बारेमा कार्यक्रमहरु भइराखेका छन् । जनता जागरुक भएका छन् चासो लिएका छन् ।

प्राध्यापक कपिल श्रेष्ठले आफ्नो व्यक्तित्व विकास, शारिरिक विकाससँग अन्योन्याश्रित सम्बन्ध भएको ठाउँ टुडिखेल भएको बताए। टुडिखेलले आफ्नो व्यक्तित्वमा ५० प्रतिशत योगदान दिएको र ५० प्रतिशत विश्वविद्यालय, मानवअधिकारकर्मीका रुपमा रहेको उनले बताए। संसारमा यस्ता खुल्ला टुडिखेललाई बार लगाउने चलन नभएको र यहाँ लगाउँदा उकुसमुकुस भएको बताए । उनले आर्मीबाट पनि अतिक्रमण भएङ्को बताए। 

हाम्रा जतिपनि खेलाडि भए डिकबहादुर, बैकुण्ठ मानन्धर, अच्युत खरेल सबै टुडिखेलका उत्पादन भएको उनले सम्झिए। टुडिखेल सामाजिक, साँस्कृतिक, खेलकुद विकास लगायत अरु धेरै कुराहरुको संरक्षण र उत्पादन गर्ने ठाउँ भएकोले यो अतिक्रमण भएको नेपाल मण्डलको सभ्यतालाई बचाउन लागिपर्नु पर्ने बताए । उनले भने यो सारा नेपालीको सम्पित्तिको पहिचान हो ।

विजय श्रेष्ठ अकुपाई टुडिखेलका संयोजकले परापूर्वकालदेखि रहेको टुडिखेललाई कुनै पनि हालतमा बचाउने बताए। उनले विशाल टुडिखेल हाम्रो मुटु र फोक्सो भएको बताए। सबैभन्दा पहिला यसमा हेर्नुपर्ने सरकारले भएको उल्लेख गर्दै यसलाई विरोधका रुपमा नभइ अभियानका रुपमा अघि बढाएको बताए।  

काठमाडौंका नेता वीरेन्द्रभक्त श्रेष्ठले अकुपाई टुडिखेललाई सहयोग गर्ने, एक्यवद्धता जनाउने त्यसबाट राजनीतिक लाभ वा नेतृत्व लिने कुरा नभइ उनीहरुले गरिरहेको कुरालाई हामीले साथ दिनुपर्ने बताए । उनले दुर्भाग्यबस काठमाडौं महानगर पालिकाको मेयर पटक्कै सम्पदाको चेतना नभएको मानिस परेको बताए। संपदाप्रति चेतना नभएको हुँनाले उनको विरोध गर्नासाथै राजनीतिकरण भयो भन्ने गरेको श्रेष्ठले बताए। उनले व्यापारिकरण गर्दा हामी चुप लागेर सुनिरहनु पर्ने, रानीपोखरीमा कफीसप खोल्ने भने, त्यसमा पनि हामी चुप लागेर बसिदिनु पर्ने, अहिले यो टुडिखेलको विषयमा पनि कांग्रेस नेकपामा विभाजन ल्याउने काम मेयरले नै गरिराखेको उनले बताए। 

काठमाडौं कांग्रेसका सदस्य रामचन्द्र घिमिरेले रानी रत्नको नाममा पार्क बनाएर पुरानो एैतिहासिक चौतारो मास्ने काम राजा महेन्द्रकै समयमा भएको बताए। महानगरपालिका पनि टुडिखेल मास्न उद्दत देखिएको उल्लेख गर्दै सेनाले समेत पार्टी प्यालेससम्म बनाएर अतिक्रमण गरेको बताए । अहिले टुडिखेल निर्माण सामान जम्मा गर्ने स्थान बनेको उनले बताए। 

ईन्जिनियर सुशन बैद्यले अकुपाइ टुडिखेल केहि अभियन्ताको मात्र नभइ आम नागरिकको अभियान भएको बताए। उनले ३ महिने कार्यक्रम पछि कडा किसिमको कार्यक्रम लिएर आउने बताए। 

अकुपाइ टुडिखेलका अभियन्ता गणपतिलाल श्रेष्ठले सम्पदा, संस्कृतिलाई माया गर्नुपर्छ भनेर १६ वर्षको उमेरदेखि लागिरहेको बताए। उनले टुडिखेल बचाएर भोलिका पुस्तालाई दिने भनेर लागेको बताए। काठमाडौं मेयरले यसलाई राजनीतिक रंग दिदै बोल्दै हिडिरहनु भएको उनले बताए। जीवनराम श्रेष्ठ, केशव स्थापितहरुलाई यस अभियानमा वाध्नका लागि बाजागाजा सहित जान लागेको उनले बताए। लालपुर्जा भएको जनताको घरमा डोजर चलाउन सक्नेले देशको मुहार फेर्नलाई यो काम गर्न ढीलाई गर्न नहुने उनले बताए ।

अकुपाई टुडिखेलका अभियन्ता संजय अधिकारीले टुडिखेल प्राकृतिक रुपमा पानीको रिचार्ज हुने, काठमाडौंलाई सासफेर्न दिने, सास्कृति रुपमा तलेजुसँग जोडिएको गुरुमापादेखि धेरै साँस्कृति कुराहरुसँग जोडिएको बताए । हाम्रो मालपोतमा सरकारी जग्गा र सार्वजनिक जग्गा रहेको र यसलाई सरकारी जग्गा भनेर सम्पूर्ण रुपमा सरकारको नियन्त्रणमा राखिएका कारण सार्वभौमसत्ता सम्पन्न जनताको नाममा ल्याउन अकुपाई टुडिखेल नाम राखेर अभियान सुरु गरेको बताए ।

कार्यक्रममा श्याममणी आचार्य, रामकृष्ण डंगोल, माइला डंगोल, हरिमान श्रेष्ठ, अनिष श्रेष्ठ, टोपेन्द्र रानामगर लगायतले मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ