भारतीय दूतावास अघि नै पक्राउपछि नेविसंघ चिनियाँ दूतावास पुग्न असफल
प्रकाशित २०७६ मंसिर १ आइतबार
1.4k
Shares
काठमाडौं । लिपुलेक, कालापानी लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको र चीनले समेत नेपाली भुभाग अतिक्रमण गरेको विरोधमा नेविसंघले राजधानीमा निकालेको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको छ। अस्कल क्याम्पसबाट शुरु भएको प्रदर्शन भारतीय दूतावास पुग्नु अघि नेविसंघका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
अस्कल क्याम्पसको प्रांगणबाट नेपालको सिमा अंकित नक्सा र बेलुन उडाएर अघि बढेका नेविसंघ कार्यकर्ता भारतीय दूतावाससहित चिनियाँ दूतावासमा बिरोध गर्ने कार्यक्रम तय भएको थियो । लैनचोरमा नै प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावास पुग्न उनिहरु असफल भएको विद्यार्थी नेता नवराज त्रिपाठीले बताए।
भारतीय दूतावास अघि गरिएको प्रदर्शनमा विद्यार्थी नेताहरुमा नवराज त्रिपाठी, मनिस सिंखडा, दीपक ओझा, सरोज थापा, सन्तोष पाण्डे, दिपेश ओली पक्राउ परेको नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले बताए ।
प्रहरीको कुटाइबाट विद्यार्थी नेता कृष्ण पुडासैनी घाइते भएका छन् । उनको टाउकोमा सात टाँका लगाइएको छ ।
पक्राउ परेकालाई तत्काल रिहा नगरे प्रहरी प्रशासन विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी काफ्लेले दिए। राष्ट्रियताको सवालमा नेविसंघले कसैसँग कहिल्यै सम्झौता नगर्ने भन्दै काफ्लेले सीमा अतिक्रमण विरुद्धको आन्दोलन जारी रहने बताए।