सरकारबाट निर्वाचन आचार संहिता उल्लंघन भयो : कांग्रेस
निर्वाचन आयोगलाई कांग्रेसको अनुगमन समितिले गरायो ध्यनाकर्षण
सुजिता बडाल,
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
587
Shares
काठमाडौं। नेपाली कांग्रेसले उपनिर्वाचनका लागि निर्वाचन आयोगले ८ कर्तिकमा लागि लागू गरेको निर्वाचन आचारसंहिताको सरकार पक्षले नै उल्लंघन गरिरहेको भन्दै आयोगको ध्यानाकर्षण गराएको छ। कांग्रेस नेता रमेश लेखकको नेतृत्वमा रहेको कांग्रेसको निर्वाचन आचारसंहिता अनुगमन समितिले शुक्रबार निर्वाचन आयोग पुगेर सरकार पक्षबाटै आचार संहिताको उल्लंघन भइरहेको भन्दै ध्यनाकर्षण गराएको हो।
समितिले १४ मंसिरमा हुने उपनिर्वाचनका लगि जारी गरिएको आचारसंहिताको पूर्ण पालना गराउने तर्फ आयोगलाई जिम्मेवार बन्न समेत आग्रह गरेको छ।
समितिका संयोजक लेखकले सरकार पक्षबाटै आचार संहिताको उल्लंघन भइरहेको र आयोगले समेत स्वतन्त्र रुपमा निगरानी गर्न नसकेको भन्दै सबै पक्षलाई आचार संहिताको पालनामा उत्तिकै जिम्मेवार बनाउन आयोगको बलियो भूमिका आवश्यक रहेको बताए।
‘सरकार पक्षबाटै आचार संहिताको उल्लंघन भइरहेको छ, आयोगले आचार संहिताको स्वतन्त्र रुपमा निगरानी गर्न नसके जस्तो देखिदैं छ, सबै पक्षलाई आचार संहिता पालनामा उत्तिकै जिम्मेवार बनाउन आयोगको थप बलियो भूमिका आवश्यक छ,’ नेता लेखकले भने।
समितिका संयोजक लेखकले निर्वाचन कानुन र निर्वाचन आचारसंहिता विपरित सांसदहरुको ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ को योजना छनौटका लागि भइरहेका परामर्श बैठकहरु तत्काल स्थगित गराउन पनि आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग आग्रह गरे।
समितिले उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन प्रभावित हुने गरी मतदातालाई प्रलोभनमा पार्ने गरी मन्त्रीहरुले विकास निर्माणका योजनाहरु छनौट गरिरहेको भन्दै तत्काल रोक्न माग गरेको हो।
आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले भने आयोग उपनिर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी रुपमा सम्पन्न गर्ने तर्फ केन्द्रित भएको र कतै कतै आचार संहिता उल्लंघनका विषय पनि उठेकाले त्यता तर्फ आयोगको ध्यनाकर्षण भएको जनाए। उनले कुनै पक्षबाट पनि आचारसंहिताको उल्लंघन हुन नदिन आयोग प्रतिबद्ध रहेको भन्दै त्यस तर्फ सबै दलको सहयोगका लागि आग्रह समेत गरे।
आगामी १४ मंसीरम ३७ जिल्लामा रिक्त रहेका प्रतिनिधिसभा सदस्य १ तथा प्रदेश सभासदस्य तीन सहित विभिन्न ५२ रिक्त पदमा उपनिर्वाचन हुदै छ। उपनिर्वाचनका लागि सबै तहका उम्मेदवारहरु उम्मेदवारी दर्ता सकेर मतदातासँग मतमाग्न घरदैलो अभियानमा लागिसकेका छन्।