नेकपा कार्यकर्ताद्धारा गाउँपालिका अध्यक्ष बडायकको पुत्ला दहन
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
485
Shares
पुनर्वास । लालझाडीमा वडा कार्यालय सार्ने निर्णयको बिरोधमा गाउँपालिका अध्यक्ष मदनसेन बडायकको पुत्ला दहन गरिएको छ । गाउँपालिकाको ३ नम्बर वडाको कार्यालय साविक स्थानबाट सार्ने विषयमा गरिएको निर्णयको बिरोध गर्दै बिहीबार अध्यक्ष बडायकको पुत्ला दहन गरिएको हो ।
वडा कार्यालय अन्यत्र नसार्न पटकपटक माग गर्दै आएका नेकपा कार्यकर्ता र स्थानीयले वडा कार्यालयमा शुक्रवार गरिएको तालाबन्दी बुधबार विद्यार्थी परिचालन गरेर तोडिएपछि गाउँपालिका अध्यक्षको पुत्लादहन गरिएको हो ।
साविक स्थानमा रहेको वडा कार्यालय अन्यत्र सार्न लागिएपछि तीन गाउँका स्थानीय बासिन्दासहित नेकपा लालझाडी गाउँपालिका–३ का नेता–कार्यकर्ताले नाराबाजी गर्दै गाउँपालिका कार्यालय घेराउ गर्दै कार्यालयको मेन गेटमा गाउँपालिका अध्यक्ष बडायकको पुत्ला जलाइएको छ । बुधबार सरस्वती माबिका विद्यार्थी परिचालन गरेर ताला तोड्न लगाएकाले बिहबिार अध्यक्षको पुत्ला दहन गरिएको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।
स्थानीय बासिन्दाको सहमति विना वडा कार्यालय सार्न थालेपछि लालझाडीमा आन्दोलन चर्किन थालेको नेकपा समर्थित युवा नेता अमर सिंह रानाले बताए । उनले भने ‘यसबारे वडाध्यक्ष, गाउँपालिका अध्यक्षलाई अनुरोध गरेका थियौँ । कसैले सुनुवाई नगरेपछि ताला लगाउन बाध्य भएका थियौं । हिजो बालबालिका लाई प्रयोग गरेर ताला तोड्न लगाएको आरोपमा अध्यक्षको पुत्ला जलाईएको हो ।’
लालझाडी–३ का वडाध्यक्ष टीकाराम चौधरीले वडा कार्यालय सार्न लागिएको नयाँ ठाउँ सबैलाई पायक पर्ने बताए । सबै प्रक्रिया पूरा गरेर वडा कार्यालय सार्न लागिएको उनको भनाइ छ । ‘‘वडा कार्यालयको जमिनका लागि १५ दिने सूचना जारी गरेका थियौँ, त्यतिवेला कसैले पनि वास्ता नै नगरेकाले पायक पर्ने ठाउँमा सार्न लागेका हौं ’ उनले भने ।