काठमाडौं। अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । करिब साढे तीन वर्षअघि लगाएको प्रतिबन्ध सशर्त फुकुवा भनिएको छ ।
सशर्तमा के के सर्तहरु रहनेछन् नखुलाईए पनि आर्थिक र प्रशासनिक योजना मुताबिक आईसीसीले नेपाललाई दिने सुविधा प्रदान गर्ने संभावना रहेको छ। नेपालको प्रतिबन्ध फुकुवा भए पछि नेपालले आईसीसीबाट पाउने सबै सुविधाहरु पाउने छ।
निलम्बन फुकुवालाई नेपाली क्रिकेटको नयाँ युग शुरु भएको मानिएको छ। क्यानले उपयुक्त र क्रिकेट मैत्री योजनाहरु अगाडी सारेमा नेपाली क्रिकेटले फड्को मार्ने विश्वास गरिएको छ। नेपाली क्रिकेटले प्रतिबन्धका बावजुद विश्व स्तरमा आफ्नो छाप छाड्ने क्रम जारी राखेको छ।
क्यानको निर्वाचन भए पछि प्रतिबन्ध फुकुवा हुने निर्णय आएको छ। दुबईमा बसेको आईसीसीको बैठकले उक्त निर्णय गरेको हो।
बिस. २०७३मा क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले क्यानमाथि प्रतिबन्ध लगाएको थियो। आईसीसीको पहलमा २ हप्ता अघि निर्वाचन सम्पन्न भए पछि निलम्बन फुकुवाको बाटो खुलेको थियो।
क्यानको निर्वाचनमा चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो।