सिन्धुपाल्चोक दुर्घटनाको मृतकका परिवारलाई इन्द्रावती गाउँपालिकाले २५ हजार दिने
रासस
प्रकाशित २०७६ असोज २५ शनिबार
714
Shares
काठमाडौं। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने जनाएको छ ।
दशैँ मनाउन गाउँ गएका यात्री राजधानी फर्कने क्रममा भएको सो बस दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । बा २ ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालकको समेत मृत्यु भएको थियो ।
केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ । बसमा ८० जनाभन्दा धेरै यात्री चढेका थिए । ओभरलोडकै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । बस दुर्घटनाको उद्धारका लागि खट्ने स्थानीयवासी, प्रहरीलगायत सबैमा गाउँपालिकाले धन्यवाद दिएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले घाइतेको उपचारका लागि आफ्नोतर्फबाट सकेसम्मको सहयोग गर्ने र कुनै कमी हुन नदिने बताए ।