उपनिर्वाचनका लागि २१ दलले पाए चुनाव चिह्न, कसलाई के ? विवरणसहित
प्रकाशित २०७६ असोज १० शुक्रबार
437
Shares
काठमाडौं । निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि विभिन्न २१ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन दर्ता भएका २१ दललाई चिह्न प्रदान गरेको हो ।
आयोगको बिहीबार बसेको बैठकले उपनिर्वाचनमा भाग लिन दर्ता भएका नयाँ २१ राजनीतिक दललाई निर्वाचन चिह्न दिएको हो ।
आयोगले भदौ ३१ गतेसम्मको समयसीमा तोकेकामा २१ दल आयोगमा दर्ता भएका थिए । एकीकरण भएका दलले समेत छुट्टै चुनावचिह्न लिनुपर्ने भएपछि सत्तारुढ दल (नेकपा) ले सूर्य चुनाव चिह्न पाएको छ ।
यो चिह्न तत्कालीन नेकपा एमालेको थियो । २०७५ जेठ ३ गते एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो ।
२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिन ९२ दल आयोगमा दर्ता भएकामा स्थानीय तहको निर्वाचनमा भाग लिन ८० दल आयोगमा दर्ता भएका थिए।
मंसिर १४ गतेको उपनिर्वाचन विभिन्न ५२ पदका लागि हुँदैछ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएकै बेलामा रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि कास्कीमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
त्यस्तै विभिन्न कारणले रिक्त प्रदेशसभा सदस्य ३, स्थानीय तह अन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ४, नगरपालिका प्रमुख १ र वडाध्यक्ष ४३ को उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन ३७ जिल्लामा मात्र हुनेछ ।