श्रीमती हसीनका कारण फसेका भारतीय क्रिकेटर शमीले पाए राहत
प्रकाशित २०७६ भदौ २४ मंगलबार
411
Shares
काठमाडौं । भारतीय क्रिकेटर मोहम्मद शमीलाई सोमबार राहतको खबर आएको छ। घरेलु हिंसाको मुद्दामा पक्राउ पुर्जी जारी भएदेखि समस्यामा परेका शमीका वकिल सलीम रहमान अहिले यो प्रतिबन्धमाथि रोक लगाउन सफल भएका छन्।
गत हप्ता, कोलकाताको अदालतले वेष्टइन्डिजमा टेस्ट श्रृंखला खेलिरहेको भारतीय क्रिकेट टीमका तीव्र गतिका बलर शमीबिरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। शमीले वेष्टइन्डिजको यात्रा सिध्याएर भारत फर्केएपछि तुरुन्तै आत्मसमर्पण गर्नु पर्ने थियो। वेष्टइन्डिज श्रृंखला समाप्त भए पछि शमी अमेरिकामा थिए, यद्यपि उनी बीसीसीआई र उनका वकीलसँग लगातार सम्पर्कमा थिए।
शमीका वकिल सलीमले शमीको बिरूद्ध गरिएको कारबाही कानुनी प्रक्रियाको बिरूद्ध भनेका छन् उनले कुन हिसाबले भारतीय बलरलाई आत्मसमर्पण गर्न भनियो भनि प्रश्न गरेका छन्।
अदालतले घरेलु हिंसाको मुद्दामा भारतीय क्रिकेटर मोहम्मद शमी र उनका भाई हसीद अहमदविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। मोहम्मद शमीकी श्रीमती हसीन जहांले दुबै बिरूद्ध मुद्दा हालेकी थिइन् । अदालतले दुबैलाई १५ दिन भित्र आत्मसमर्पण गर्न आदेश दिएको थियो ।
मार्चमा, शमीबिरुद्ध दाइजो र यौन उत्पीडनको आरोपमा एउटा आरोप पत्र पेश गरिएको थियो। उनिमाथि भारतीय दण्ड संहिताको धारा ४९८ ए (दाइजो उत्पीडन) र ३५४ ए (यौन उत्पीडन) को आरोप लगाइएको थियो। शमीलाई उनकी श्रीमती हसीन जहांले गत वर्ष दाइजो उत्पीडन, शारीरिक उत्पीडन, म्याच फिक्सिंग जस्ता कयौ संगीन आरोप लगाएकी थिइन् । यद्यपि बीसीसीआईले म्याच फिक्सिंग आरोपको छानबिनपछि उनलाई क्लीन चिट दिएको थियो ।
शमीकी श्रीमती हसीन जहांले आफ्नो फेसबुकमा फोटोहरू शेयर गर्दै उनिमाथि महिलाहरूसँग अवैध सम्बन्ध राखेको आरोप लगाएकी थिइन्। हसीनले शमी र केटीहरू बीचको व्हाट्सएप च्याटको स्क्रीनशट पनि शेयर गरेकी थिइन् । फोटोमा शमी एउटी महिलाको साथ उभिरहेको देखिन्थे। उनलाई पनि शमीको 'प्रेमिका' भनेर वर्णन गरिएको छ ।