प्रदेश सभा सचिवालय सम्बन्धी विधेयकमा विवेकशीलका सांसदको विरोध
प्रकाशित २०७६ भदौ १८ बुधबार
765
Shares
काठमाडौं । विवेकशील नेपाली दलले ‘प्रदेश सभा सचिवालय ऐनलाई संसोधन गर्न बनेको विधेयक’ मा राजनीतिक नियुक्तिमार्फत सचिव नियुक्त गर्ने प्रावधानमा विरोध जनाएको छ ।
प्रदेश नं ३, प्रदेश सभाको चौथो अधिवेशनको २९औँ बैठकमा प्रदेश नं ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जमकट्टेलले विधेयक पेश गरेका थिए । राजनीतिक नियुक्ति पाएका सचिवले उत्तरदायी पनि राजनीतिक नेताप्रति नै हुने भएकाले राजनीतिक नियुक्ति गर्न नहुने विवेकशीलका सांसदहरुको भनाई छ ।
‘प्रदेश मन्त्रीको नियतमा शंका छैन किनकी अहिले कर्मचारी अभावका कारण वाधा परेकाले फुकाउनु पर्ने वाध्यता छ, तर यो गलत सँस्कारले गलत नजीर बस्न जान्छ ।’ विवेकशीलका सांसद विराजभक्त श्रेष्ठको भनाई थियो । यसरी प्राविधिक पदहरुमा व्यक्तिगत इच्छाले राजनीतिक नियुक्ति दिँदा विधिको शासन स्थापित हुनै नसक्ने विवेकशीलका सांसदहरुको भनाई छ ।
विवेकशीलकै अर्का सांसद रमेश पौड्यालले पनि आफूहरुले सदनमा रचनात्मक आलोचना गरेको र यसलाई ग्रहण गर्न आग्रह गरेका थिए । ‘हाम्रो आलोचनामा पूर्वाग्रह छ भने बरु हामीलाई सचेत सचेत गराईदिनुहोस् तर स्वस्थ सुझावहरु ग्रहण गर्नुहोस् ।’- उनको भनाई थियो । प्रदेशमा कर्मचारि अभाव हुँदा छिटोछरितो व्यवस्थापन गर्नभन्दै हतारमा विधेयक ल्याइएको विवेकशील नेपाली दलका सांसदहरुको भनाई छ।