पैसा नदिए छोरीलाई हत्या गर्ने र घरमा बम पड्काउने धम्की दिने पक्राउ
प्रकाशित २०७६ भदौ १७ मंगलबार
355
Shares
काठमाडौं । एक महिलालाई चिट्ठी दिएर रु २० लाख नदिए छोरीलाई मार्ने र घरमा समेत बम पड्काउने धम्की दिने व्यक्तिलाई प्रहरीले मंगलबार काठमाडौँ बालाजुबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको बेनिघाट–रोराङ गाउँपालिका–५ घर भई नयाँ बजार बस्ने सन्तोष कँडेल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले जानकारी दिए।
कँडेलले भदौ १३ गते महिलालाई चिट्ठी पठाएर रु २० लाख माग गरेको र यदि पैसा नदिए छोरीलाई हत्या गर्ने र घरमा समेत बम पड्काउने धम्की दिएको प्रहरीले जनाएको छ ।
आज भदौ १७ को मिति दिँदै बालाजुको पुल नजीक आएर पैसा दिन चिट्ठीमा भनिएको थियो । सोही सूचनाका आधारमा नक्कली पैसा लिएर गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनले नेत्रविक्रम चन्दको नाम लिएर धम्क्याउँदै आएको खुल्न आएको छ ।