arrow

औषधीको मात्रा मिलाउन प्रधानमन्त्री सिंगापुर जाँदै

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार
kp-oli5.JPG

काठमाडौं ।  नौ दिनसम्म सिंगापुरमा उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुन: सिंगापुर लैजाने तयारी  भएको छ । उनलाई भदौको पहिलो साता सिंगापुर लगिने तयारी भएको छ ।   सिंगापुरमा उपचारमा रहँदा प्रधानमन्त्री ओलीको स्वास्थ्यको औपचारिक जानकारी समेत दिइएको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले  प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य चेक–अप (फलोअप) को लागि सिंगापुर जान लागेको जानकारी दिएका छन् ।

उनले भने,‘उहाँ फलो–अपको लागि सिंगापुर जाँदैहुनुहुन्छ । औषधीको मात्रा मिलाउनुपर्ने भएकोले जान लाग्नुभएको हो ।’ उनले फेरि मृगौला प्रत्यारोपण हुने हो कि भनेर गरिएको हल्लामा कुनै सत्यता नरहेको जिकिर गरे । उनले जाने मिति तय भएपनि उताबाट प्रधानमन्त्री कहिले फर्किने भन्ने मिति अहिलेसम्म तय नभएको सुनाए ।

यसअघि मृगौलाले काम गर्ने क्रम घट्दै गएपछि उनलाई फेरि सिंगापुर लैजाने तयारी भएको बताइएको थियो। मिर्गौलामा क्रेटिनिमको मात्रा बढ्दै गएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिएका थिए । साउन १८ गते सिंगापुरतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली ९ दिनको सिंगापुर बसाइपछि सोमबार फर्कदा फर्कदै आफ्नो स्वास्थ्य अवस्थाबारे केहि दिनमा थाहा पाउने बताएका थिए।

शुक्रबार मात्रै ओलीले म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो ? भन्दै बालुवाटार पुगेका झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग ठट्टा गरेका थिए ।  बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा चलाइएका निराधार हल्लाको प्रसङ्ग उल्लेख गरेका थिए ।

 उनले, “हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । बाहिर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो ।” भनेका थिए ।

ओलीले गत हप्ता सिङ्गापुरमा आँखा, कान, घाँटी र बूढीऔँलादेखि कान्छीऔँलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अङ्ग ठीक छ भनेका छन् । अब २०–२५ वर्ष केही हुँदैन भन्छन् । त्यस कारण म बिरामी होइन । भनेका थिए

ओलीको सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटल मा स्वास्थ्य परीक्षण गरिएको थियो ।

 साथैनागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको बारेमा नेपाली जनताले यथेष्ट जानकारी पाउनुपर्ने धारणा राखेका छन् । उनले भने,‘केपी ओली दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री हो । उहाँ त सर्वेसर्वा हो । उहाँ विरामी भएर सिंगापुर जानुभयो । फेरि जाँदै हुनुहुन्छ । उहाँको स्वास्थ्यको बारेमा जनताले थाहा पाउनुपर्छ । उहाँ त पब्लिक टप मष्ट फिगर हो ।’

दिक्षितले ओलीजी नभए मुलुकमा अस्थिरता उत्पन्न हुनेपनि बताए । उनले भने,‘उहाँको स्वास्थ्यको बारेमा विज्ञप्ती निकाल्नुपर्दछ । जनताले जानकारी त पाउनुपर्यो नि । हुन त उहाँ औषधीको मात्रा मिलाउन फेरि जान लाग्नुभएको भन्ने कुरा आएको छ । अहिले ईन्टरनेटको जमाना छ । भाईबर छ । यसबारेमा जानकारी चाहियो । उहाँको स्वास्थ्य अवस्थाबारे विज्ञप्ती चाहियो । यो त हाम्रो हकको कुरा हो । उहाँको पनि सुचना दिनु दायित्व हो । उहाँको अगाडिको भविष्य के हो ? यसबारेमा जानकारी नदिनु उहाको टिमको गल्ती हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ