'म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो ?'
प्रधानमन्त्रीको स्वास्थ्य सामान्य : भेटघाट र बैठक शुरु
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
306
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि बिहानदेखि नियमित भेटघाट र महत्वपूर्ण काममा सक्रिय भएका छन् ।
प्रधानमन्त्री ओलीले आज बिहान प्रम निवास बालुवाटारमा झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग भेटघाट गरेका थिए । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयका बैठकमा सहभागी छन् । गत साता सिङ्गापुरमा नियमित स्वास्थ्य परीक्षण गराई स्वदेश फर्कएका प्रधानमन्त्री ओली बिहीबार ज्वरोका कारण सामान्य अस्वस्थ्य भएका कारण नेकपाको बैठक सरेको थियो ।
झापाली कार्यकर्तालाई ओलीले ताजगी मुद्रामा सोधे, “म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो ?” उनले ती कार्यकर्तालाई आफू स्वास्थ्य रहेको तर बाहिर बढी प्रचार भएको जनाएको उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताए।
झापा ५ नं निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा चलाइएका निराधार हल्लाको प्रसङ्ग उल्लेख गर्दै भने, “हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । बाहिर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो ।”
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकसँग भने, “गत हप्ता सिङ्गापुरमा आँखा, कान, घाँटी र बूढीऔँलादेखि कान्छीऔँलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अङ्ग ठीक छ भनेका छन् । अब २०–२५ वर्ष केही हुँदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।” रासस