धार्मिक आस्थामाथि प्रहरी निरीक्षकको प्रहार, हिरासतमा राखिएका धामीको शिखा र जनै काटियो
प्रकाशित २०७६ साउन २७ सोमबार
451
Shares
काठमाडौं । कैलाली जिल्लाको फल्टुँडे ईलाका प्रहरी कार्यालयको हिरासतमा लिइएका एक व्यक्तिको टुप्पी र जनै प्रहरी निरीक्षक माधव विकले काटिदिएको आरोप लागेको छ। धार्मिक आस्थामाथि प्रहार हुने गरी प्रहरी निरीक्षक विकले स्थानीय मानसिंह धामीको जनै र टुप्पी काटेर पठाएको आरोप पीडितले लगाएका छन् ।
आईतबार श्रीमान श्रीमतीबीचको विवादलाई लिएर प्रहरी चौकी लगिएका धामीलाई हिरासतमा राखेर बिकले दूव्र्यवहार गरेको धामीले बताएका छ्न्। यस विषयमा माथिल्लो निकायमा उजुरी गर्ने भन्दा विकले जहाँ जान मन छ गए हुन्छ भन्दै उनको जनै र शिखा काटेर पठाएको पीडितको आरोप छ ।
पीडित धामीले 'मेरो धर्म नष्ट हुन्छ टुप्पी, जनै नकाटदिनुस' भन्दा भन्दै प्रहरीले आफ्नो धार्मिक अधिकारमाथि आक्रमण गरेको धामीले बताएका छ्न् I जनै टुप्पी काट्न नदिन खोज्दा आफूमाथि कुटपिट भएको पनि उनले दुखेसो गरे ।
धामी हिरासतबाट मुक्त भएयता यस विषयमा चर्चा सुरु भएपछि विकले एक लाख रुपैयाँको लोभ देखाएर यो विषय बाहिर नल्याउन दबाब दिएको धामीले बताएका छन् । धामीले हिरासतमा हुँदा तँ अझै आफूलाई धार्मिक अगुवा भन्छस् भनी पहिले शिखा र पछि जनै नै काटिदिएको आरोप पीडितले लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदीप गिरिले सुरक्षाको लागि हिरासतमा राख्दा जनै लगाउन नदिएको भन्दै प्रहरी निरीक्षक विकको बचाउ गरे। उनले मदिरा सेवनका कारण होसमा नरहेका धामीलाई सुरक्षाको नियम अनुसार जनै फुकाउन लगाएको स्वीकार गरे।
जनैमा बेरिएर आत्महत्या गर्न सक्ने अवस्था नरहेको भन्दै पीडितले भने प्रहरीले नियोजित रुपमा जनै र टुप्पी काटेको आरोप लगाएका छन् ।