बचतकर्ताको पैसा खर्च नगरी बैंकहरुले पनि बिमा सुविधा दिन पाउने
प्रकाशित २०७६ साउन १३ सोमबार
853
Shares
काठमाडौं । मौद्रिक नीतिमा गरिएको बीमा सम्बन्धी व्यवस्थाका कारण बैंक र बीमा कम्पनीबीचको दूरी टाढा बनाउने प्रयास गरिएको भएपनि बैंकले सेवाग्राहीहरुसँग पैसा असुल नगरी बीमाको सुविधा दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । गत बुधबार मौद्रिक नीतिमा समेटिएको एक व्यवस्थाले कमिसनको लागि होस् या त एउटै ग्रुपका बीमा कम्पनीहरुको उत्थानको लागि गर्ने सहकार्यलाई रोक्दै कर्जासँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अरु विषयमा बीमा योजना बेच्न नसक्ने व्यवस्था गरेको थियो ।
यो व्यवस्था गरेपनि विभिन्न बैंकहरुले सेवाग्राहीहरुलाई स्वास्थ्य बीमा होस् या त अरु शीर्षकमा पनि बीमा सुविधाका नयाँ नयाँ योजनाहरु ल्याउने गरेका छन् । मौद्रिक नीति आउनुपूर्व माछापुछ्रे बैंकले खातामा ५ हजार रुपैयाँ राखिरहने ग्राहकहरुको लागि विभिन्न किसिमका दूर्घटना बीमा, स्वास्थ्य बीमा लगायत बीमाको योजनाहरु ल्याएको थियो । त्यस्तै, कुमारी बैंकले पनि आइतबार पत्रकार सम्मेलन नै गरेर परिवार सुरक्षा बचत खातामा स्वास्थ्य बीमा लगायतका सुविधाहरु दिने योजना सार्वजनिक गर्यो । यस बाहेक पनि नबिल बैंक लगायत अन्य बैंकहरु पनि यस्ता योजनामा सहभागी भइरहेका छन् । तर, यी योजनाहरु र मौद्रिक नीतिको व्यवस्थामा के फरक छ ?
मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयम्ले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने उल्लेख गरेको छ । यो व्यवस्थासँगै बैंकले ऋणीलाई कर्जाको सुरक्षण स्वरुप गराउने गरेको बीमा निश्चित कम्पनीबाट मात्रै गर्न बाध्य पार्न सक्दैन । यो व्यवस्थासँगै कुनैपनि ऋणीले आफ्नो ऋणको सुरक्षाको लागि बैंकले भनेको नभई आफूलाई मन लागेको बीमा कम्पनीमा बीमा गराउन सक्नेछन् ।
त्यस्तै, मौद्रिक नीतिमा कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था गर्ने भनिएको छ । यसको अर्थ कुनैपनि बैंकले जीवनबीमा लगायत कर्जासँग प्रत्यक्ष सरोकार नै नरहेको विषयमा समेत बैंकबाटै बीमा गर्न बैंकहरुलाई रोक लगाउन सक्नेछ । आफ्नै ग्रुपको बीमा कम्पनीसँग वा अन्य बीमा कम्पनीसँग पनि कमिसनको लागि सम्झौता गरी बीमा पोलिसी बेचे बापत करोडौं रुपैयाँ कमाईरहेका बैंकहरुलाई यो नीतिले धक्का दिने देखिन्छ । यस्तो स्वार्थ समूहलाई छुट्टाउनको लागि बैंकहरुले कर्जासँग प्रत्यक्ष सम्बन्ध नभएको बीमा पोलिसी विक्री गर्न नपाउने व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बैंकहरुले सेवाग्राहीसँग पैसा नलिई उनीहरुलाई बीमा सुविधा दिनको लागि कुनै अवरोध नरहेको बताए । मौद्रिक नीतिको व्यवस्थाले बैंकहरु बीमा कम्पनीको एजेन्टको रुपमा काम गरेर कमिसन खान नपाउने बिषय उल्लेख गरेको भन्दै सेवाग्राहीको पैसा खर्च नगरी बीमा सुविधा दिन्छन् भने त्यसमा कुनै रोकतोक नरहेको उनले स्पष्ट पारे । अहिले बैंकको काउन्टरसँगै बीमाको पनि काउन्टर खोलेर कमिसन पाउनेगरी बैंकहरुले इन्स्योरेन्सको समेत सुविधा दिँदै आएका थिए । निरौलाले अब केही दिनमा राष्ट्र बैंकले बैंकहरुको नाममा सर्कुलर जारी गरेपछि त्यो व्यवस्था लागू हुने बताए ।