बुद्धको मूर्ति तोडफोड गर्नेलाई यथाशीघ्र कारवाही गर्न कांग्रेसको माग
प्रकाशित २०७६ साउन २ बिहिबार
736
Shares
काठमाडौं । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका विश्वशान्तिका अग्रदूत गौतम बुद्धको मूर्तिहरु तोडफोड गरेको समाचार प्रति नेपाली कांग्रेसले ध्यानाकर्षण जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बिहिबार विज्ञप्ति जारी गर्दै भनेका छन् ,' विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो । यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ ।'
घटनाको सत्यतथ्य छानविन गरी यसमा संलग्न दोषीलाई यथाशीघ्र कानूनी कारवाही गर्न नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ ।