भ्रामक समाचारमा अदालतको आदेश, आर्थिक दैनिकलाई जरिवाना
प्रकाशित २०७६ असार २४ मंगलबार
492
Shares
काठमाडौं । भ्रामक समाचार मार्फत सर्वसाधारण जनतामा घृणा फैलाएको अभियोगमा ललितपुर जिल्ला अदालतले आर्थिक राष्ट्रिय दैनिकलाई दोषी ठहर गरेको छ । तथ्यहीन समाचार संप्रेषण गरी भ्रम फैलाएको अभियोगमा आर्थिक राष्ट्रिय दैनिकका सम्पादक प्रल्हाद रिजाल, चाहना पब्लिकेशन प्रा.लि, सञ्चालक रामप्रसाद पुडासैनी र संवाददाता रोशन कार्कीलाई जनही २० हजार जरीवाना गर्न जिल्ला अदालत ललितपुरले आदेश दिएको हो ।
चौधरी ग्रुपले कम्पनीको बारेमा भ्रामक, अतिरञ्जनापूर्ण र तथ्यहीन सामग्री संप्रेषण गरी कम्पनी विरुद्ध दुराग्रहपूर्ण ढंगले दुष्प्रचार गरी जनतामा भ्रम फैलाएको भन्दै दायर गरेको मुद्धामा मुलुकी अपराध संहिता,२०७४ को दफा ३०७ को उपदफा १ (२) अनुसार चाहना पब्लिकेशन प्रा.लिसहित प्रतिवादीहरु पुडासैनी,रिजाल र कार्कीलाई जरीवानाको फैसला सुनाएको हो ।
जिल्ला अदालत ललितपुरले सरकारले पनि असुली गर्न सकेन चौधरी ग्रुपसंग करछलीको रकम, विचाराधीन मुद्धालाई प्रभाव पार्दै चौधरी समूह आर्थिक अपराधमा संलग्न, आयल निगमको १२ बिगाहा जग्गा आफ्नो नाममा गर्न चौधरीको दवाव, सरकारी कर्मचारीहरुलाई समेत प्रभाव पारी सीजी पार्कको नाममा सरकारी जग्गा अतिक्रमण जस्ता शीर्षकमा भ्रामक र कपोकल्पित समाचारहरु संप्रेषण भएको ठहर गरेको छ । ती समाचारमा अनावश्यक रुपमा चौधरी ग्रुपआबद्ध परिवारका सदस्यहरुको तस्विर समेत संप्रेषण गरी सर्वसाधारणलाई सुसुचित गराउनेभन्दा जनताप्रति घृणा फैलाउने गरी चौधरी ग्रुप र त्यसमा आबद्ध व्यवसायीको सुनियोजित रुपमा चरित्र हत्या गरिएको अदालतको ठहर छ ।
आर्थिक दैनिकले निरन्तर चौधरी ग्रुपविरुद्ध तथ्यहीन र भ्रामक समाचार संप्रेषण गरिएको भन्दै ग्रुप कानुनी उपचार खोज्दै अदालत गएको थियो। तथ्यहीन समाचार संप्रेषण गरी निहित स्वार्थ पूर्ति गर्नेहरुलाई ललितपुर जिल्ला अदालतको यस्तो फैसलाले दुरुत्साहन गरेको चौधरी ग्रुपका एक अधिकारीले जनाएका छ्न् ।