सबैभन्दा कमजोर अफगानिस्तानविरुद्ध भारतको संघर्षपूर्ण जित
शामीले बनाए पहिलो ह्याट्रिक
प्रकाशित २०७६ असार ८ आइतबार
912
Shares
काठमाडौं । इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा सबैभन्दा कमजोर अफगानिस्तानविरुद्ध भारतले संघर्षपूर्ण जित निकालेको छ ।
साउथह्याम्टनमा शनिबार राति भएको खेलमा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको हो ।
भारतले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४९.५ ओभरमा अलआउट भएर २१३ रनमा रोकियो । अन्तिम ओभरमा मोहम्मद शामीले ह्याट्रिक विकेट लिँदै भारतलाई जीत दिलाए ।
पछिल्ला तीन ओभर भारतले निकै तनावमा रहेर खेलिरहेको अवस्थामा शामीले शानदार ह्याट्रिक लिएर भारतको उद्दार गरे ।
जारी विश्वकपको पहिलो ह्याट्रिक लिने खेलाडी बनेका शामीले अन्तिम ओभरको तेस्रो, चौंथो र पाँचौ बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए ।
अफगानिस्तानका लागि मोहमद नाबीले ५२ रन बनाउँदा भारतलाई पसिना आएको थियो। तर अन्तिममा उनी आउट हुँदा भने महत्वपूर्ण योगदान दिएर पनि टिमलाई जिताउन सकेनन् ।
रहमत साहले ३६, गुल्बादीन नाबीले २७ तथा हास्मतउल्लाह शाहिदी र नाजिबउल्लाह जाड्रनले समान २१–२१ रन बनाए ।
अफगानिस्तानलाई सस्तैमा समेट्न शामीले ह्याट्रिकसहित ४ विकेट लिए । यस्तै जस्प्रित बुम्राह, युजभेन्द्र चहल र हार्दिक पाण्डयले २–२ विकेट लिए ।
भारतको संघर्षपूर्ण ब्याटिङ
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले संघर्षपूर्ण योगफल बटुल्यो । जारी प्रतियोगितामा निकै सशक्त खेल्दै आएको भारतले यो खेलमा भने रन बटुल्न सकेन ।
भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो । कप्तान विराट कोहलीले सर्वाधिक ६७ रन बनाए ।
केदार जाधबले ५२ रन बनाए । लोकेश राहुल ३०, विजय शंकर २९ र, महेन्द्र सिंह धोनीले २८ रन बनाएर आउट भए।
दुई खेलमा सतक बनाएर सनसनी मच्याएका रोहित शर्मा १ रन बनाएर आउट भएपछि भारतले रन बटुल्न संघर्ष गर्नुपरेको थियो ।
अफगानिस्तानका मोहमद नाबी र गुलाबदिन नाइबले समान २–२ विकेट लिए । मुजिब उर रहमान, रहमत शाह, राशिद खान र अफताब आलमले समान १–१ विकेट लिए।
अंक तालिका
भारतले ५ खेलबाट ९ अंक जोडेको छ । अपराजित भारत अंक तालिकाको तेस्रो स्थानमा छ ।
न्यूजिल्याण्ड ६ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा छ भने अष्ट्रेलिया ६ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ।अफगानिस्तान ६ खेलबाट अंकविहीन छ र पुछारमा छ ।