टेलरको आकर्षक ब्याटिङले न्यूजिल्याण्डको लगातार दोस्रो जित
प्रकाशित २०७६ जेठ २३ बिहिबार
370
Shares
काठमाडौं । विश्वकप एक दिवसीय क्रिकेटमा न्यूजिल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । बुधबार राति भएको खेलमा बंगलादेशलाई २ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले दोस्रो जित निकालेको हो ।
लण्डनमा बंगलादेशले दिएको २४५ रनको लक्ष्य न्यूजिल्याण्डले ४७.१ ओभरमा ८ विकेटको नोक्सानीमा पुरा गर्यो ।
न्युजिल्याण्डको जितमा रोस टेलरले सर्वाधिक ८२ रन बनाए । यस्तै कप्तान केन विलियमसनले ४० तथा मार्टिन गुप्टिलले २५ रन बनाए ।
बंगलादेशका हसन मिराज, शकिब अल हसन, मोहमद साइफुदिन र मोसाडेक होसेनले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.२ ओभरमा अलआउट हुँदै २४४ रन बनाएको थियो ।
अलराउन्डर शकिब अल हसनले ६४ रन बनाए । म्याट हेनरीले ४ तथा ट्रेन्ड बोल्टले २ विकेट लिए ।
जितसंगै न्यूजिल्याण्डले २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो ।
पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले हराएको बंगलादेशले दोस्रो खेलमा भने न्यूजिल्याण्ड सामु घुँडा टेकेको हो ।