चेन्नाई आठौं पटक आइपिएलको फाइनलमा, दिल्ली बाहिरियो
प्रकाशित २०७६ वैशाख २८ शनिबार
884
Shares
काठमाडौं। चेन्नाई सुपर किङ्स आइपिएल टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नाई फाइनलमा पुगेको हो। १ सय ४८ रनको विजयी लक्ष्य चेन्नाईले १९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो । फाफ डु प्लेसिस र सेन वाट्सनले समान ५०–५० रन बनाउँदै चेन्नाईलाई जिताए ।
दुवैबीच पहिलो विकेटका लागि ८१ रनको साझेदारी भएको थियो। यसअघि, विशाखापट्नममा भएको खेलमा टस जितेर चेन्नाईले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दिल्लीले ९ विकेटको नोक्सानीमा १ सय ४७ रन बनायो।
ऋषभ पन्तले ३८ र कोलिन मुन्रोले २७ रन बनाए । दिपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र डियान ब्राभोले समान २–२ विकेट लिए। दिल्ली अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन। आइपिएलको १२ औं संस्करणसम्म आइपुग्दा चेन्नाई आठौं पटक फाइनलमा पुगेको छ। चेन्नाईले फाइनलमा मुम्बई ईन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ। मुम्बई र चेन्नाईबीच फाइनलमा चौथोपटक भेट हुँदैछ । पहिलो क्वालिफायरमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो। फाइनल खेल आइतबार हुँदैछ।