नातिनी लिएर विद्यालय पुगेका हजुरबुवा आफै शिशु कक्षामा भर्ना
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
602
Shares
दार्चुला । शिक्षा आर्जन गर्न उमेरले छेक्दैन भन्ने उखान सत्यसाबित भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको शैल्यशिखर आधारभूत विद्यालयमा ६५ वर्षीय वृद्ध भर्ना भएका छन् । स्थानिय लालसिंह बिष्ट ४ वर्षकी नातिनी मनिषा विष्टलाई भर्ना गर्न गएका बेला आफु स्वयं शिशु कक्षामा भर्ना भएका छन् ।
बिष्ट बैशाख ११ गते निरन्तर विद्यालय गइरहेका छन् । उनलाई बिहिबार फुलमाला लगाएर औपचारिक रुपमै विद्यालयमा स्वागत समेत गरिएको शैल्यसिखर नगरपालिकाका शिक्षाशाखा संयोजक सुरेन्द्रबहादुर विष्टले बताए । वृद्ध व्यक्तिको पढ्ने रहर भएको पाउँदा आफुलाई समेत खुसी लागेको उनले बताए ।
विद्यालय भर्ना भएका वृद्ध बिष्टको पढाई खर्च भने शैल्यसिखर नगरपाकिलका वडा न. ५ का वडा सचिव मोहनसिंह डाँगालेले ब्यहोर्ने भएका छन् । बिहिबार वडा सचिव डाँगाले बिष्टलाई विद्यालय पोसाक, कापी, कलम, स्कूलब्याग प्रदान गरी अविभाकत्व ग्रहण गरेका छन् ।
आफुसंग वृद्ध बिष्टले पढ्ने इच्छा सुनाएपछि अविभाकत्व ग्रहण गरेको वडा सचिव डांगाले बताए । ‘मेरो हरेक दिन वडा कार्यालय जाने/आउने बाटो उहाँकै घरबाट पर्दछ, उहाँले मलाई स्कूल पढ्ने इच्छा जाहेर गर्नुभयो, मैले उहाँलाई विद्यालय जान भनेपछि बैशाख ११ गतेदेखि उहाँ निरन्तर विद्यालय जान थाल्नुभयो, उहाँको पढाइ गर्ने इच्छा बढ्दै गयो र मैले उहाँको अविभावकत्व ग्रहण गर्ने जिम्मा लिएँ’ उनले भने ।
विद्यालय भर्ना भएका वृद्ध लालसिंह बिष्टका २ छोरी र १ छोरा छन् । १ छोरा र १ छोरीको बिवाह भैसकेकोछ भने १ छोरी कक्षा ७ मा पढ्छिन् । उनका छोरा घरमै घरायसी काम गर्छन् भने ४ बर्षीय नातिनी र आफु पढ्नका लागि विद्यालय जान्छन् ।
आफुले आजभोली विद्यालय जाँदा बचपनको याद आउने गरेको बिष्ट सुनाउँछन् । सानैदेखि पढ्ने इच्छा भएपनि पहिला नजिक विद्यालय नभएको र उतिबेला पढ्नै पर्छ भन्ने चेतना सबैमा नभएका कारण आफुले पढ्न नपाएको तर अब भने स्वास्थ्यमा कुनै समस्या नआएसम्म पढाई गर्ने उनले बताए ।