मेस्सी महान् ! दुई गोल गर्दै बार्सिलोनालाई पुर्याए सेमिफाइनलमा
कौटिन्होले एक गोल थपे, म्यान्चेस्टर युनाइटेड निरीह बन्यो
प्रकाशित २०७६ वैशाख ४ बुधबार
555
Shares
काठमाडौं । अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सी महान् खेलाडीको उपमातर्फ अगाडि बढ्दै गएका छन् ।
उनको व्यवसायिक क्लब स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गर्दा मेस्सीकै गोलले महत्वपूर्ण भूमिका खेल्यो ।
इंगलिश क्लब म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै बार्सिलोना सेमिफाइनलमा प्रवेश गरेको हो । मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा बार्सिलोना ३–० गोल अन्तरले विजयी भयो ।
बार्सिलोनाको जितमा मेस्सीले दुई तथा फिलिप कौटिन्होले एक गोल गरे । मेस्सीले १६ औं मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसको चार मिनेटमै मेस्सीले अर्को गोल थपेर अग्रता दोब्बर पारे । कौटिन्होले ६१ औं मिनेटमा गोल गर्दै टोलीको जित निकाले ।
पहिलो लेगको खेलमा बार्सिलोना १–० ले अघि थियो । बार्सा समग्रमा ४–० को नतिजा सहित अन्तिम ४ मा प्रवेश गरेको हो ।