ललितपुर । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका अमृत थापा मगर च्याम्पियन बनेका छन् ।
ललितपुरको सातदोबाटोमा भएको फाइनलमा अमृतले प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारलाई ११–५, ३–११, ११–७ र ११–४ को सेटमा पराजित गरे ।
सातौं राष्ट्रिय खेलकुदमा पनि अमृत नै पहिलो भएका थिए । प्रदेश ३ का राजेन्द्र शाक्य तथा प्रदेश २ का दीपक थापाले कांस्य जिते । महिला सिंगल्सको राउन्ड रोविनमा प्रदेश ३ की भावना सुनुवारले लगातार चौथो जित हात पारेकी छन् ।
भावनाले आफ्नै प्रदेशकी विपना ब्लोनलाई ११–७, १३–११ र १२–१० ले हराइन् । ६ खेलाडी सहभागी महिलामा अब भावनाले १ खेल खेल्न बाँकी छ ।
अन्य खेलमा गण्डकीकी कृष्णा थापाले प्रदेश ३ की स्वस्थानी श्रेष्ठलाई ११–७, ११–९ र ११–८ तथा प्रदेश ३ की मन्जिला मगरले गण्डकी सालिनी घिमिरेलाई ११–३, ११–२ र ११–३ को सोझो सेटमा पन्छाए ।
पुरुष टिममा एपीएफले प्रदेश २ लाई ३–० तथा प्रदेश १ ले प्रहरीलाई २–१ ले निराश पारे ।