विश्वकप छनोट क्रिकेटमा युएईविरुद्ध नेपालको सनसनीपूर्ण बलिङ
४२ रनको लक्ष्य, नेरीलाई ४ विकेट
प्रकाशित २०७५ फागुन १० शुक्रबार
738
Shares
काठमाडौँ । आइसीसी महिला विश्वकप टी–२० क्रिकेटको एशिया छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले सनसनीपूर्ण बलिङ गरेको छ ।
थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध सनसनीपूर्ण बलिङ गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको युएई नेपाल सामु टिक्न नसकेपछि ४१ रनमै समेटियो । युएईले १७.३ ओभर खेलेर ४१ रन बनाएको हो ।
चामनी सेनेभिरात्नले सर्वाधिक १३ रन बनाइन् । त्यसबाहेक कुनै पनि खेलाडीले डबल डिजिटको रन जोड्न सकेनन् ।
पूर्व कप्तान नेरी थापाले ३.३ ओभर बलिङ गर्दै १ मेडेन राखेर ६ रन खर्चेर ४ विकेट लिइन् । त्यसैगरी सीता राना मगर, कविता कुँवर र सोनु खड्काले २–२ विकेट लिए ।
छनोट प्रतियोगिताका शुरुआती तीन खेल जितेर युएई बलियो अवस्थामा छ । युएई तीन खेलबाट ६ अङ्क जोड्दै तालीकाको शीर्षस्थानमा छ ।
नेपालले युएईलाई पराजित गर्न नसके छनोट हुने सम्भावना लगभग कमजोर हुनेछ । तर नेपालले आकर्षक बलिङ गरेसंगै पुनरागमन गर्ने अवसर प्राप्त छ । अघिल्लो महीना थाइल्याण्डमै भएको टी–२० स्म्यास प्रतियोगितामा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपाल भने आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग पराजित हुँदै छनोट प्रतियोगिताको दौडमा कमजोर बनेको छ । बिहीबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको थियो । पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले हराएको थियो ।
प्रतियोगिताको एशिया छनोटमा सात राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।