‘एल क्लासिको’ भिडन्तमा यसरी भयो बराबरी, मेस्सीको फिटनेशले डुबायो
प्रकाशित २०७५ माघ २४ बिहिबार
224
Shares
काठमाडौं । एल क्लासिको अर्थात् स्पेनिश कोपा डेल रे भिडन्तमा विश्व फुटबलका दुई महारथी क्लबहरु बार्सिलोना र रियाल मड्रिडबीचको खेल बराबरीमा सकिएको छ ।
सेमिफाइनल पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको हो । नोउ क्याम्पमा बुधबार राति भएको खेलमा बार्सिलोना एक गोलले पछि परेको स्थिति उल्ट्याएर बराबरी खेलेको हो ।
खेलको छैटौं मिनेटमै पाहुना टोली लुकास भास्क्वेजको गोलमा अग्रता लिन सफल भयो । भिनिसियस जुनियरले क्रस गरेको बललाई करिम बेन्जेमाले उपलब्ध गराएको पासमा भास्क्वेजले बक्सभित्रबाट गोल गरेका थिए ।
एक गोलले पछि परेपछि बार्सिलोनाले ५७औं मिनेटमा माल्कोमको गोलबाट बराबरीमा ल्यायो । त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि गोल गर्न असमर्थ रहँदा खेल बराबरीमा सकियो ।
खेलमा बार्सिलोनाका सशक्त खेलाडी लियोनल मेस्सीले पूर्ण समय खेल्न सकेनन् । घाइते भइ खेल्न सक्ने नसक्ने दोधारमा रहेका बेलामा ६३ औं मिनेटमा मैदानमा छिरे पनि उल्लेखनीय खेल्न सकेनन् ।
उनको फिटनेशले बार्सिलोनाले घरेलु मैदानमा अग्रता लिन सकेन । यसअघिको खेलमा उनी घाइते भएपछि एल क्लासिको खेल्ने नखेल्ने दोधारमा थियो ।
यो बराबरीले बार्सिलोनालाई भने अप्ठेरो परेको छ । घरेलु मैदानमा २७ फेब्रुअरीमा हुने खेलमा रियालले बार्सिलोनालाई रोक्न सके अवे गोलमा अघि बढ्नेछ ।
कोपा डेल रे अन्तर्गतको दोस्रो सेमिफाइनलमा बिहीबार राति रियाल बेटिस र भ्यालेन्सिया भिड्दै छन् ।