arrow

हुलाकी राजमार्गको नाम शहिद दुर्गानन्द झाको नाममा राख्न निधीको माग 

logo
राजन कुमार सिंह,
प्रकाशित २०७५ माघ १५ मंगलबार
bimalendra-nidhi.png

जनकपुरधाम। नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र नीधिले पुर्व पश्चिम हुलाकी राजमार्गको नाम शहिद दुर्गानन्द झा मध्य तराई लोकमार्ग नामाकरण हुनुपर्नेमा जोड दिएका छन्। शहिद झाले राष्ट्र र प्रजातन्त्रको लागि शहादत दिएकोले उनको नाममा पुर्वको झापादेखि पश्चिमको कंचनपुर हुलाकी राजमार्गको नाम परिवर्तन गरिनुपर्ने माग गरेका हुन्। 

नेपाली कांग्रेस जनकपुर नगर समिति र रामनारायण चिन्तन प्रतिष्ठानको संयुक्त रुपमा आयोजनामा भएको  शहिद दुर्गानन्द झाको ५५ औं बलिदानी दिवसको अवसरमा जनकपुरमा आयोजित पुष्पाञ्जली कार्यक्रममा उपसभापति निधीले शहिद झालाई तत्कालीन निरंकुश राजतन्त्रको निर्देशित अदालतद्वारा मृत्युदण्ड दिईएको बताए । उनले शहिद झा अन्य शहिदभन्दा फरक रहेको र प्रजातन्त्रको लागि आफनो प्राणको आहुति दिएकोले उनलाई शहिद सम्राट वा शहिद ए आजम भन्दा अतिशयोक्ति नहुने बताए । शहिद दुर्गानन्दले कलिलो उमेरमै दिएको बलिदानीले प्राप्त प्रजातन्त्रलाई सबैले बलियो बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए । 

निधीले एक फरक प्रसंगमा प्रदेश नं. २ को नाम मिथिला भोजपुरा प्रदेश नामाकरण हुनुपर्नेमा जोड दिए। उनले मिथिला क्षेत्रको आफनो भाषा, संस्कृति र पहिचान छुटटै भएको र बारा, पर्सा र रौतहटको भावनालाई समेत समेटनुपर्ने भएकोले यो प्रदेशको नाम मिथिला भोजपुरा नै उपयुक्त हुने बताए। जनकपुर चुरोट कारखाना कुनै पनि हालतमा संचालनमा नआउने बताउंदै उपसभापति नीधिले अब सरकारी स्तरबाट रक्सी र चुरोट जस्तो स्वास्थ्यमा प्रतिकुल असर पार्ने कारखानाहरुको संचालन हुन नहुने बताए। सरकारबाटै चुरोट कारखानाको सम्पति नष्ट गर्ने र प्रदेश दुईको राजधानी जनकपुर हुन नदिन ठुलो षडयन्त्र भईरहेको उनले आरोप लगाए । उनले प्रदेश नं. २ को राजधानी कुनै पनि हालतमा जनकपुर नै रहने बताउंदै कुनै षडयन्त्र गरिए नेपाली कांग्रेसले आन्दोलनको आंधीबेहरी ल्याउने बताए।

वर्तमान संघीय सरकारले संघीयता नचाहेको भन्दै सरकारले संघीयता विरोधी , गणतन्त्र विरोधी र जनविरोधी कार्यहरु गरिरहेको आरोप लगाउंदै उपसभापति नीधिले यहि माघ २१ गते देशव्यापी रुपमा सरकारको क्रियाकलापको विरोध गर्ने बताए। आफुलाई कथित मधेशवादी भनाउने दलहरुकै कारण मधेश शक्तिशाली हुन नसकेको उनले आरोप लगाए । नेपाली कांग्रेस मधेशमा तीन प्रदेशको पक्षमा रहेको समय फोरम र राजपाकै नेताहरुले यसलाई ८ वटा जिल्लामा सिमित पारेको गुनासो पोखे। 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले विकास मुल फुटाउने कांग्रेसलाई पराजित गरेर धनुषाका जनताले ठुलो भुल गरेको बताए । उनले आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाई विकास निर्माणको कार्यमा सहभागी हुन सबैमा आह्वन गरे ।

नेपाली कांग्रेस जनकपुरधाम नगरसमितिका अध्यक्ष मनोज साह र रामनारायण मिश्र चिन्तन प्रतिष्ठानको अध्यक्ष महेन्द्र मिश्रको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनीधि सभा सदस्य स्मृति नारायण चौधरी, मिनाक्षी झा, नेपाली कांग्रेस प्रदेश नं. २ का संसदीय दलका नेता रामसरोज यादव, प्रदेश सभासदस्य शिवचन्द्र चौधरी, प्रमिला दास, जिल्ला सभापति महेशशंकर गिरी, जनकपुर नगरपालिकाका पुर्व मेयर बजरंग साह, उपसभापति संतोष यादव , दिगम्बर राय , क्षेत्रिय अध्यक्ष कन्हैयालाल कर्ण ,  प्रतिष्ठानका सचिव अजय झा लगायतका वक्ताहरुले शहिद झाको जीवनको विभिन्न पक्षमाथि प्रकाश पारेका थिए ।

नेपाली कांग्रेसका युवा नेता गणेश झाले संचालन गरेको कार्यक्रममा प्रजातान्त्रिक योद्धा ललन चौधरी र शहिद झाकी धर्मपत्नी काशीदेवी झालाई सम्मान गरिएको थियो । सो कार्यक्रममा नेपाली कांग्रेसका नेता देबु झा , गणेश तिवारी , युवा नेता प्रफुल्ल राज घिमिरे , श्याम साह , शम्भुनाथ झा , जिवनाथ चौधरी , जितेन्द्र साह , नगराईन नगरपालिकाका नगरप्रमुख परमेश्वर यादव , सबैला नगरपालिकाका नगरप्रमुख विजयशंकर प्रसाद साह , प्रवेश चौधरी , वरिष्ठ पत्रकार रामभरत साह , प्रविण शाह , शैलेन्द्र झा , नेपाली कांग्रेसका पुर्व जिल्ला सचिव राजकिशोर सिंह , नेपाल तरुण दलका उपाध्यक्ष राकेशबिक्रम साह , विजेता झा , मिनु झा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ