दुई वर्षदेखि खोरमा थुनिएकी रमिलाको स्वास्थ्यमा सुधार
उत्तम चौलागाँई,
प्रकाशित २०७५ माघ ६ आइतबार
436
Shares
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका छितापोखरीकी ३३ वर्षीया रमिला तामाङ सामान्य अवस्थामा फर्किएकी छन् । मानसिक सन्तुलन गुमाएर दुई वर्षदेखि खोरमा थुनिएकी रमिलाको उद्धार गरि गाउँपालिकाले उपचार गराएपछि रमिला सामान्य अवस्थामा फर्किएकी हुन् ।
गाउँपालिका प्रमुख भूपेन्द्र राईले गत पौष ३ गते रमिलाको घरमा गएर खोरमा बन्धक बनाई राखेको अवस्थामा उद्धार गरेर काठमाडौं उपचारमा पठाएका थिए । रमिलाको काठमाडौंस्थित मानसिक अस्पताल लगनखेलको बेड नम्बर ३७ उपचार भईरहेको छ । गाउँपालिका प्रमुख राईले रमिलाको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । रमिलाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएपछि प्रमुख राईले भने, ‘रमिलाको स्वास्थ्य सुधार भएकोले आउँदो शुक्रबार अस्पतालले ‘डिस्चार्ज’ गर्दैछ, त्यसपछि उनी घर फर्किंदैछिन्, स्वस्थ भएर ।’
एक महिनाको निरन्तर उपचारपछि अहिले उनलाई ठीक हुँदै गएको अस्पतालले जनाएको छ । नियमित औषधि सेवन गर्ने गरी घर जान सुझाइ सकेको रमिलाको उपचारमा खटिएका चिकित्सकहरुले जानकारी दिएका छन् । चिकित्सकहरुका अनुसार रमिलाले केही समय नियमित औषधी खाए र घरमा तनावमूक्त भएर बसे पुरानो समस्याबाट सधैंका लागि मुक्ती पाएकी छन् । बच्चाहरुलाई कुटपिट गर्ने, रुने, कराउने, आफ्नो घरका भित्ताहरु कोतर्ने, गाई बस्तु फुकाएर खेद्ने बोलेको पक्तो नपाउँने जस्ता गतिविधि गरेपछि रमिलालाई आफन्तले ठुलो क्षति हुन नदिन खोरमा थुनेर राखेका थिए ।
खोरमा थुनिएकी रमिलाको सम्पूर्ण उपाचार खर्च व्यहोर्ने गरि दिप्रुङ चुइचुम्मा गाउँपालिकाले उपचारमा पठाएको थियो । गाउँपालिका प्रमुख राईले हेलिकप्टरबाट काठमाडौं पठाउने व्यवस्था गर्ने भनेपनि रमिलाका श्रीमानले उपचारका लागि धरान लैजाने भनेपछि त्यो कुरा त्यतिकै टुङ्गिएको थियो ।
रमिलाको उपचारका लागि धरानमा ८० हजार जति खर्च गर्दा पनि उनलाई ठिक नभएपछि गाउँले र आफन्तले घर छेउमा काठ र जाली लगाएर खोर बनाएर राखेका थिए । रमिलाले उपचार पाएर नयाँ जीन्दगीको सुरुवात गरेपछि आफुलाई सहयोग गर्ने गाउँपालिका र गाउँपालिका प्रमुखप्रति खुशी व्यक्त गरेको आफन्तले बताएका छन् । उनले गाउँपालिका प्रमुख राईलाई ‘अब त ठिक भयो सर कहिले घर जाउँ जस्तो भएको छ । अस्पतालबाट निस्केपछि घर जान्छौं । छोराछोरीले पीर गरिरहेका होलान् ।’ भनेको आफन्तले जानकारी दिएका छन् ।