पारस खड्काको नेतृत्वमा नेपाली क्रिकेट टोलीको घोषणा, शरद बाहिर
प्रकाशित २०७५ माघ ६ आइतबार
224
Shares
काठमाडौं । संयुक्त अरब ईमिरेट्स (युएई)सँग एकदिवसीय अन्तराष्ट्रीय र टि-२० क्रिकेट श्रृखंला खेल्ने नेपाली टोलीको घोषणा भएको छ। तीन एकदिवसीय अन्तराष्ट्रीय र तीन टि-२० क्रिकेटको शृखंलाका लागि टोली छनौट भएको हो।
अस्वस्थ रहेका नेपाली टोलीका प्रमुख खेलाडी शरद भेषावकर बिना नेपाली टोली घोषणा भएको हो। शरदलाई ठीक हुन अझै ३-४ हप्ता लाग्ने बताईएको छ। क्याम्पमा रहे पनि अन्तिम समयमा बिरामी परेका कारण शरदले टिमबाट नाम फिर्ता लिएका छन्।
यसअघि विश्व क्रिकेट लिग अन्तर्गत हङकङ विरुद्धको दुई खेलमा पनि शरद विरामी भएर घर फर्किएका थिए। यस्तै नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेल पनि चोटका कारण खेल्न सकेका थिएनन्।
पारस खड्काको कप्तानीमा नेपाली टोली घोषणा भएको हो। उपकप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन्।
आईसीसीका प्रतिनिधि अमिन उल इस्लामको संयोजकत्वमा मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट टोलीले खेलाडीहरुको छनौट गरेको हो।
बंगलादेश प्रिमीयर लिग खेलिरहेका सन्दिप लामिछाने सोमबार नेपाल फर्किने छन्। उनले बिपीएलका लागि बिगबास पुरै खेलेका थिएनन् भने राष्ट्रीय टोलीको श्रृखंलाका लागि बिबिएल पुरा खेलेनन्।
नेपाली टोलीमा चार खेलाडीहरुले पहिलो पटक खेल्ने मौका पाउँदैछन्। पवन शरार्फ, सन्दीप जोरा, भीम सार्की र अविनाश बोहोरा एकै पटक राष्ट्रिय टोलीमा आएका हुन्।
।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले खेल्न लागेको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शृखला हो भने ट्वान्टी–२० अन्तर्राष्ट्रिय पहिलो हो । यसअघि नेदरल्यान्ड्ससँग दुई खेलको एकदिवसीय शृंखला खेलेको थियो । उक्त शंखला १–१ को बराबरीमा टुंगिएको थियो ।
नेपाली टोली मंगलबार दुबई प्रस्थान गर्ने कार्यक्रम रहेको छ। टोली दिउँसो ४: २० बजे फ्लाई दुबईको नियमित उडानबाट दुबई जाँदैछ।
नेपाली टोलीलाई मुख्य प्रशिक्षक जगत टमाटाले प्रशिक्षण गराईरहेका छ्न्। उनलाई ब्याटिङ प्रशिक्षक उमेश पटवाल र ट्रेनर सुवास पात्रोले प्रशीक्षणमा सघाई रहेका छन्।