arrow

एनआरएन उपाध्यक्ष आचार्य भन्छन: विदेसिदै गरेको नेपालको धन रोक्न पनि एनआरएनलाई नागरिकता 

logo
हाम्रा कुरा
प्रकाशित २०७५ माघ ५ शनिबार
kul-achrya-nrn.jpg

पर्वत जिल्लामा मध्यम परिवारमा जन्मिएका कुल आचार्य यतिबेला विश्वका ८० मुलुकमा फैलिएको गैर आवसीय नेपाली संघ(एनआरएनए)का उपाध्यक्ष छन्। युके र युरोपमा बसेर व्यवसाय गर्दै समाजसेवामा सक्रिय रहेका उनी क्रियाशिल पदाधिकारी मध्येमा पर्छन। शिक्षकको जागिर छाडेर विदेशीएपछि उनले विश्वभर यस्तो उचाइ लिएका हुन्। मध्यम परिवारमा जन्मिएर बेलायतमा रेष्टुरेन्टमा काम गर्दै कालान्तरमा रेष्टुरेन्टकै मालिक बन्न पुगेका कुल एनआरएनएको उपाध्यक्षसम्म पुगेर प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन्। 

सन् २००७ देखि ९ सम्म एनआरएन यूकेको साधारण सदस्य, २००९ देखि ११ सम्म एनआरएनए यूकेको उपाध्यक्ष, सन् २०११ देखि १३ सम्म एनआरएनए युकेको अध्यक्ष हुँदै सन् २०१३ देखि १५ सम्म अन्तराष्ट्रिय समन्यवय समितिको सदस्य भएका उनले हाल संघको केन्द्रिय उपाध्यक्ष रहँदा आफ्नो जिम्मेवारीमा रहेको ललितपुरको शंखमुल पार्कको निर्माण सकेर सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकेका छन्। विश्वभरका नेपालीहरुको माया र स्नेह मिलेमा भावी दिनमा एनआरएनएको नेतृत्वमा पुग्ने इच्छा देखाएका उनीसँग समसायिक विषयमा हाम्राकुराले गरेको संक्षिप्त कुराकानी: 

नवौं विश्व सम्मेलनमा जुट्नुभएको छ, कसरी भइरहेको छ तयारी ?
विशेषत हामीले प्रत्येक दुई बर्षमा गैर आवसीय नेपाली संघ(एनआरएनए)को विश्व सम्मेलन नेपालमा नै गर्ने गर्दछौं। नेपाल सरकारको परराष्ट्र मन्त्रालयको संयोजकत्वमा सम्मेलन नेपालमा नै गर्दै आइरहेका छौं। भर्खरै सकिएको फेस टु फेस बैठकबाट आगामी सन् २०१९को अक्टुबर १३ देखी १६ सम्म नवौं विश्व सम्मेलन गर्ने भनेर निर्णय भएको छ र भब्य रुपमा सम्मेलन सफल बनाउछौं। यतिबेला हाम्रो कार्यकालमा भएका कामहरुको सबै प्रतिवेदनको तयारी गरिरहेका छौं। अक्टोबर ११ मा एनआरएन डे मनाउँदै विश्व सम्मेलनको प्रक्रिया अघि बढाउने गरी काम भइरहेको छ। सबैले आ–आफ्नो क्षेत्रबाट काम गरिरहेका छौं। तयारी सुरु भइसकेको छ।

समग्रमा तपाईंहरुको यो दुई बर्षे कार्यकाल कस्तो रहयो ? 

हुनत संस्थामा नयाँ व्यक्ति आउँदैमा केही हुने होइन। तर संस्थाले अंगिकार गरेका कार्यक्रमहरु लगिनुपर्ने हुन्छ र कार्यान्वयनमा आउनुपर्छ भन्ने मेरो मान्यता हो। पहिले शेष घलेज्यूको कार्यकालमा तय भएका मेगा प्रोजेक्टको काम अहिले भइरहेको छ। मैंले नै नेतृत्व गरेको ललितपुरको शंखमुल पार्क निर्माण सकिएको छ। यता बालुवाटारमा करिब २५ करोडको लागतमा एनआरएनए भवन निर्माणको अन्तिम अवस्थामा छ ।

त्यस बाहेक लाप्राक बस्ती निर्माणको अभियानमा छौं। त्यहाँ ५७३ वटा घरहरु निर्माण भइरहेका छन्। बैशाखसम्ममा घरहरु हस्तान्तरण गर्न सक्छौं भन्ने लागेको छ। अहिले हामीले माइक्रो फाइनान्स सुरु गरेका छौं। पत्रकार महासंघको इ–लाइब्रेरी, अन्य च्यारिटीका कामहरु भइरहेका छन्। हामीले पनि केही नयाँ काम सुरु गरेका छौं। विभिन्न व्यक्तिहरुले जिम्मा लिनुभएको कामहरु धमाधम भइरहेका छन्। विनाशकारी महाभूकम्पका बेला हामीले नेपालीहरुको दुःखमा साथ दिन सकेका थियौं जस्तो लाग्छ।

मध्यपूर्व र खाडी देशहरुका नेपालीहरुको पक्षमा एनआरएनएको भूमिका प्रभावकारी भएन भन्ने आरोप छ नि ?
कुनैबेला त्यस्तो आरोपहरु आउने गर्थे तर अहिले हामीले त्यस्तो आरोप खेप्नुपरेको छैन्। किनकी अहिले ति देशहरुमा काम भइरहेको छ। व्यवस्थित रुपमा हामीले सकेको काम गरिरहेका छौं। अहिले कोष(फरेन इम्प्लोएमेन्ट फन्ड) नै खडा गरेर काम गरिरहेका छौं। अफ्ठयारो परेको बेला सहायता गरिरहेका छौं। हाम्रो लक्ष्य अब सेफ माइग्रेसनको अभियान हो, यसमा हाम्रो ध्यान केन्द्रित भएको छ। मुलुकको आर्थिक उन्नतीमा ठूलो सहयोग पुर्‍याउने खाडी र मध्यपूर्व अर्थात मलेसियामा रहेका नेपालीहरु विना एनआरएन रहनै सक्दैन। यसतर्फका नेपालीहरुसँग हामी गम्भीर छौं।

यतिबेला खाडीमा रहेका धेरै नेपाली जेलमा हुनुहुन्छ, विरामी परेर घर फर्किन सक्नुभएको छैन्, यसतर्फ तपाईहरुको भूमिका प्रभावकारी देखिदैन नी ?
भर्खरै मात्र परराष्ट्रमन्त्री र परराष्ट्र सचिबलाई भेटेर यसबारेमा जानकारी गराएका छौं। तथ्याकंहरुसहित मन्त्रीलाई सरकारका तर्फबाट पहल गरिदिनुहोस भनेका छौं तर कुनै कुनै गम्भीर घटना र परिस्थितिले व्यक्ति जेल परेको हुन्छ, त्यस्ता केसहरुको समाधान हाम्रो पहलमा हुन सक्दैन। कसैको व्यक्तिगत आचरण र व्यवहारले जेल परेको छ भने हामी चाहेर पनि केही हुँदैन। तर पनि हामीले रेकर्ड बनाएर नेपाल सरकारको तर्फबाट पहल गरिदिन आग्रह गरेका छौं। यसका लागि नेपाल सरकारलाई सहयोग गर्ने बचन दिएका छौं।

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदानका लागि एनआरएनको भूमिका के छ ?
वास्तवमा यसका लागि दुई क्याटोगरीका नेपालीहरु हुनसक्छन्। अदालतले दिएको निर्देशन अनुरुप नेपाल सरकारले प्रक्रिया अघि बढाइसकेपछि यसको सहयोगका लागि हामी जुनसुकै बेला तयार छौं। मतदानको सम्पूर्ण संयन्त्र परिचानल गर्ने काम सरकारको हो। हामी प्राविधिक र अन्य सहयोग गर्न तयार छौं। विश्वका अन्य थुप्रै मुलुकहरुले विदेशमा रहेका आफ्ना नागरिकलाई मतदान अधिकार प्रदान गरिरहेको बेला हामीले अधिकार प्रयोग गर्न किन नपाउने ? सरकार यसतर्फ गम्भीर बन्नसक्नुपर्छ। 

एनआरएनएभित्र दलगत, क्षेत्रीय र जातीय राजनीति हावी हुन थालेको आरोप पनि छ ?
एनआरएनमा गुट–उपगुट र हारजित हुनुहुँदैन भन्ने हो। तर हामी यसलाई चिरेर अघि बढ्ने पहलमा छौं। चुनावका बेला जे जस्तो भएपनि काम गर्ने सवालमा हामी एक ढिका छौं। वास्तवमा दलगत र जातिय राजनीतिको कलर नआएको होइन तर हामीले यसलाई व्यवस्थित बनाएर लानेमा सधैं एक भएका छौं। संस्था फुटयो, क्षतविक्षत भयो भनेर कहीं पनि तपाईंले भेट्नुहुन्न। पराजित भएका उम्मेदवाहरु पनि हामीसँगै काम गरिरहनु भएको छ। सहायता गरिरहनु भएको छ। हामीबीच तिक्तता छैन र हुनेछैन। हामी सबै एक छौं साथै नेपाल र नेपालीका लागि काम गर्न एकताबद्ध भई अघि बढ्न तयार छौं। 

भिजन–२०२० एण्ड वियोन्ड नारासहितको अभियानको काम के भइरहेको छ ?
हाम्रो संस्था ठूलो भइसक्यो, ८० देशमा भइसक्यौं। भिजन–२०२० एण्ड वियोन्ड नारा तत्कालिन अध्यक्ष शेष घलेज्यूले प्रस्तुत गर्नुभएको हो। यसलाई दिर्घकालिन रुपमा स्थापित गराउनका प्रयासमा छौं र प्रक्रिया अघि बढीसकेको छ। भावी सन्ततीहरुलाई यसमा सामेल गराउनका लागि युएनको जस्तो सिस्टम बसाउन यस्तो गरेका हौं। यसैलाई मध्यनजर राखेर हामी अघि बढिरहेका छौं। यद्यपी, काम गर्दै जाने सवालमा लागु नै गरेर अघि बढ्न त सकेका छैनौं। तर भविष्यमा यही नारामार्फत सिइयोले संस्था चलाउन सक्नुपर्दछ भन्ने हाम्रो मूल ध्येय हो। यसका लागि एकदमै सक्षम र उत्कृष्ट भिजन भएको व्यक्ति आवश्यक पर्दछ। त्यसैले यो नारालाई सार्थक तुल्याउन धेरै प्रयास भइरहेको छ। 

यही चैत्र महिनामा सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको छ। यसमा एनआरएनएको भूमिका कस्तो रहन्छ ?
हामीलाई यसको निमन्त्रणा आइसकेको छ। एनआरएनए र सरकारबीच इन्भेस्टमेन्ट फन्ड बनाऔं र काम गरौं भन्ने हाम्रो प्रस्ताव हो। यो लगानी सम्मेलनमा हामी प्रस्तुत गरेको श्वेतपत्र अनुसार काम गरौं भनेका छौं र हामी गतिलो साझेदारका रुपमा उभिन तयार छौं। डायस्पोरामा रहेका नेपाली जस्तोसुकै सहयोग र विज्ञ उपलब्ध गराउन तयार छन्।

उज्यालो नेपाल अभियान कहाँ पुग्यो ?
अहिले छलफल चलिरहेको छ। कम्पनी फर्म गरेका छौं। हुन त यो नेपालमा उर्जा बचतको अभियान हो। एलइडी बल्ब गाउँ शहरमा सदुपयोग गरौं भन्ने हो। काम भइरहेको छ। 

एनआरएनको आवरणमा गैरकानुनी कामहरु भइरहेका छन् भन्ने खबरहरु सार्वजनिक भइरहेका छन्। यसलाई कसरी नियन्त्रण गर्ने ?
म एकदमै कडा रुपमा के भन्न चाहन्छु भने एनआरएनको आवरणमा समाजसेवा गर्ने वहानामा संस्थालाई बदनाम गराउँछ भने त्यसको म खुलेर विरोध गर्दछु। ५० लाख नेपाली जोडिएको संस्थामा लोभलालच गर्छ भने त्यो आपत्तिपूर्ण छ। ब्यवसाय वा समाजसेवा गर्नुपर्छ तर संस्था बदनाम गराउने प्रयास हुन्छ भने त्यो सहय हुँदैन। 

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार र नागरिकता दिलाउने प्रक्रिया के भइरहेको छ ?
यी दुवै काम पूरा गर्ने जिम्मेवारी नेपाल सरकारको हो। हामी निरन्तर खबरदारी गरिरहेका छौं। विदेशमा मतदाता नामावली संकलन देखि मतदानका अन्य प्रक्रियाहरुमा सहयोग गर्न हामी तयार छौं। नेपाली नागरिकताका सवालमा संविधानमा नै ब्यवस्था छ। यसलाई चाँडै अघि बढाउन हामीले सरकारलाई पटक पटक आग्रह गरिसकेका छौं। यो नहुँदा नेपालको धन विदेशीरहेको छ, यसलाई रोकथामका लागि पनि एनआरएनएलाई नागरिकता जरुरी छ। यसका लागि संसदमार्फत विधेयकमार्फत काम अघि बढीसकेको छ। देशमा विदेशबाट आर्थिक सहायता भित्र्याउन पनि नागरिकता एकदमै जरुरी देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ