काठमाडौं। इंगलिश लिग कप वा काराबाओ कप वा इएफएल फुटबल भनिने प्रतियोगिताको सेमिफाइनलमा म्यान्चेस्टर सिटीले एकतर्फी गोलको वर्षा गरेको छ। सिटीले सेमिफाइनलको पहिलो लेगमा बुर्टन आल्बियनलाई ९–० गोल अन्तरले हरायो। घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमा चार तथा दोस्रो हाफमा थप पाँच गोल गरेको हो। गाब्रिएल जिसस एक्लैले चार गोल गरे।
केभिन डी ब्राउनले पाँचौँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। जिससले ३० औ, ३४ औँ, ५७ औं र ६५ औं मिनेटमा गरी चार गोल गरेका हुन् । यस्तै ३७ औँ मिनेटमा ओलेक्सान्ड्र जिनचेन्कोले गोल गरे । फिलिप फोडिनले ६२ औँ मिनेटमा गोल गरेपछि सिटीको अग्रता ६–० मा पुग्यो । यस्तै कायल वाकरले ७० औँ तथा रियाद महरेजले ८३ औँ मिनेटमा गोल गरेपछि सिटीले ९–० को जित निकालेको हो ।
सिटीले लिग कप फुटबलमा ३३ वर्ष यताकै फराकिलो जित निकालेको हो । सन् १९८६ मा लिग कपमा लिभरपुलले फुल्ह्यामलाई १०–० ले हराएको थियो। सिटीले एउटै खेलमा ८ भन्दा धेरै गोल गरेको पछिल्लो ३१ वर्षमा पहिलोपटक हो । सिटीले सन् सन् १९८७ को नोभेम्बरमा दोस्रो डिभिजनको लिगमा हडर्ल्सफिल्ड टाउनलाई १०–१ ले हराएको थियो। सिटीले अब दोस्रो लेगमा जनवरी २३ मा बुर्टनको मैदानमा खेल्ने छ ।