काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति ७ खेल भएका छन् । ७ खेलबाट १६ गोलमात्र भएको छ ।
खेलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले एभर्टनलाई हरायो । घरेलु मैदानमा सिटीले खेल ३–१ ले जित्यो । गाब्रियल जिससले २ तथा रहिम स्टर्लिङले १ गोल गरे ।
एभर्टनका डोमिनिक काल्भर्ट लेविनले एक गोल फर्काए । क्रिष्टल प्यालेसले पूर्व च्याम्पियन लेस्टर सिटीलाई घरेलु मैदानमा १–० ले हरायो ।
न्युकासल युनाइटेडले हडर्सफिल्ड टाउनलाई उसकै मैदानमा १–० ले हरायो । त्यही नतिजा टोटनह्याम हट्सपरले पनि ल्यायो । टोटनह्यामले बर्नलीलाई घरेलु मैदानमा १–० ले हरायो ।
वाट्फोर्डले कार्डिफ सिटीलाई ३–२ ले हरायो । वुल्भरह्याम्पटनले बर्नमाउथलाई घरेलु मैदानमा २–० ले हरायो ।
वेष्टह्यामले घरेलु मैदानमा फुल्हमलाई २–० ले हरायो । लिगमा म्यान्चेस्टर सिटी र लिभरपुलबीच कडा टक्कर देखिएको छ । १७ खेलबाट सिटीको ४४ र लिभरपुलको १६ खेलबाट ४२ अंक छ ।