फुटबलमा वडा नम्बर ७ ,पुरुष भलिवलमा २ र महिला भलिवलमा १ नम्बर वडा बिजयी
सीता डोटेल,
प्रकाशित २०७५ मंसिर २६ बुधबार
621
Shares
पाल्पा (रामपुर) । पाल्पाको रामपुरमा गत शनिबार देखि जारी दोस्रो मेयर रनिङ्ग कप सम्पन्न भएको छ । मेयर रनिङ्ग कप अन्तर्गत भएको पुरुष भलिबल प्रतियोगिताको प्रथम उपाधी वडा नं. २ ले हात पारेको छ । महिला भलिबलको उपाधी वडा नम्बर १ ले पाएको छ भने फुटवल तर्फ वडा नम्बर ७ बिजेता हुन सफल भएको छ ।
पुरुष भलिबलको उपाधीको लागि भएको फाईनल खेलमा वडा नं. १० लाई सोझो सेटमा पराजित गर्दै वडा नं. २ ले हात पारेको हो । वडा नं. २ ले पहिलो सेटमा २५-२३, दोस्रो सेटमा २५-२३ र तेस्रो सेटमा २५-२१ अंकले पराजित गरेको थियो । यस संगै वडा नं. १० ले द्वितिय स्थानमा चित्त बुझाएको छ । वडा नं. ७ लाईले ३-१ सेटले हराउँदै वडा नं. १ ले तृतिय उपाधी जितेको छ । पहिलो सेटमा वडा नं. १० ले २१-२५ अंक, दोस्रो सेटमा २२-२५ अंक, र चौथो सेटमा २२-२५ ले पराजित गरेको थियो । तेस्रो सेट वडा नं. ७ ले २८-२६ अंक सहित हात पारेको हो ।
पुरुष फुटबलको फाईनल खेलमा वडा नं. ६ लाई ३-१गोलले पराजित गर्दै वडा नं. ७ ले प्रथम उपाधी हात पारेको हो । वडा नं. ६ ले द्वितीय स्थानमा चित्त बुझाएको छ । खेलको पहिलो हापको ११ मिनेटमा वडा नं. ७ का लागि सन्दिप सेनले गोल गरेका थिए । त्यसको लगतै वडा नं. ६ का विपिन सेनले २२ औं मिनेटमा गोल गरी खेल बराबरीमा पुर्याएका थिए । दोस्रो हाफमा वडा नं. ७ का सन्दिप सेनले ११ औं मिनेटमा र धनु ढेंगाले २७ औं मिनेटमा थप एक गोल गरी उपाधी वडा नं. ७ ले उपाधी चुमेको थियो । तृतिय स्थानको लागि भएको खेलमा वडा नं. ३ लाई २-१ गोलले पराजित गर्दै वडा नं. १० ले तृतिय उपाधी जितेको थियो ।
महिला भलिबलको उपाधी यस वर्ष पनि साविक विजेता वडा नं. १ ले हात पारेको छ । फाईनल खेलमा वडा नं. १० लाई सोझो सेटमा पराजित गरेको थियो । पहिलो, दोस्रो र तेस्रो सेटमा २५-१०, २५-१६ र २५-११ अंकले वडा नं. १० लाई पराजित गरेको थियो । तृतिय स्थान निर्धारणको लागि भएको खेलमा वडा नं. ४ लाई सोझो सेटमा पराजित गर्दै वडा नं. ९ ले तृतिय स्थान हासिल गरेको हो । यस्तै चापाकोट र रामपुर नगरपालिका स्तरिय डबल्स व्याटमिन्टन प्रतियोगितामा प्रथम चापाकोटका शिव कुँवर र राजु विकको समुह, द्वितिय रामपुरका सुमन आले र शंकर रानाको समुह, तृतिय देव गुरुङ् र देवेन्द्र कुमाल समुह र भानु शाही र शंकर बहादुर खाँणको समुह भएको छ । प्रतियोगिता अन्तर्गत पूरुष भलिबल प्रतियोगिताका प्रथम, द्धितिय र तृतियले क्रमश नगद ५० हजार, ३० हजार र २० हजार, महिला भलिबलका विजयीले नगद ३० हजार, २० हजार र १० हजार, पुरुष फुटबल प्रतियोगिताका विजेताले नगद ५० हजार, ३० हजार र २० हजारका साथमा रनिङ्ग कप, सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । डबल्स व्याटमिन्टनमा विजेताले नगद २० हजार, १२ हजार र ८ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
प्रतियोगिता अवधि भर पुरुष भलिबल प्रतियोगितामा वेस्ट सेटर वडा नं. १० का राजन गुरुङ, वेस्ट डिफेन्डर वडा नं. २ का पदम बहादुर कुमाल, वेस्ट स्पाईकर वडा नं. ७ का अशिम राना, वेस्ट बल्कर वडा नं. १० का ओमन राना, वेस्ट शर्भर वडा नं. २ का अविनाश थापा र वेस्ट प्लेयर वडा नं. १० का धन बहादुर कुँवर घोषित भएका छन् । महिला भलिबल प्रतियोगितामा वेस्ट सेटर वडा नं. १० का अनिता आले, वेस्ट डिफेन्डर वडा नं. ९ का जानुका पाटा, वेस्ट स्पाईकर वडा नं. १० का कल्पना सिंजाली, वेस्ट शर्भर वडा नं. १ का शान्ति उचै र वेस्ट प्लेयर वडा नं. १ का वृहस्पति खाँण भएका छन् । पुरुष फुटबलमा हाइस्कोरर वडा नं. ७ का गौरव क्षेत्री, वेस्ट किपर वडा नं. ७ का खुम सारु, वेस्ट मिडफिल्डर वडा नं. ७ का राजीव क्षेत्री, राईजिङ प्लेयर विपिन सेन र वेस्ट डिफेन्डर सौरभ क्षेत्री भएका छन् ।
प्रतियोगितामा विजयी समुहलाई रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले व्यक्तिको सर्वाङ्गीण विकास र राष्ट्रको गौरवको लागि खेल आवश्यक रहेको बताए । कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत मिन बहादुर घर्ती मगरले स्थानिय प्रतिभा उजागर गर्न बेला बेलामा यस्ता प्रतियोगिता अत्ति आवश्यक रहेको बताए । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनी, वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्ल, ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपाल सिंह राना, जिल्ला खेलकुद विकास समिति पाल्पाका सदस्य कमल सेन, सामुदायिक रेडियो रामपुरका स्टेशन म्यानेजर बासुदेव ढकाल र जिल्ला भलिबल संघका सदस्य राजु थापाले बोल्दै रामपुर क्षेत्रमा खेल प्रतिभा उदाउँदो क्रममा रहेको बताउँदै उनीहरुको लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनु आवश्यक रहेको बताएका थिए ।
नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष शंकर बहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष राजु गुरुङको स्वागत र सचिव दुर्गेश मल्लको सञ्चालनमा भएको हो । यस्तै दोस्रो मेयर रनिङ्ग कप प्रतियोगिताको समापनको अवसरमा पत्रकार सम्मानित भएका छन् । प्रतियोगिताको समापनको अवसरमा रामपुर नगरपालिका द्वारा नगद ३३ हजार रकम र सम्मान पत्र सहित पत्रकार इमान सिं रानालाई सम्मान गरेको हो । फरक क्षमताका पत्रकार रानाको पूर्वक सत्य,तथ्य,समाचारको माध्यमबाट नगरबासीमा सुचना सम्प्रेषण गरेको भन्दै रामपुर नगरपालिकाको तर्फ बाट नगर प्रमुख रमण बहादुर थापाले सम्मान गरेका हुन् ।