arrow

के बन्यो काँग्रेसको नीति ?

logo
जीवन भण्डारी,
प्रकाशित २०७२ फागुन १७ सोमबार
13th-congress.png.png.png
काठमाडौँ । संविधानको कार्यान्वयनलाई जोड दिने गरी नेपाली काँग्रेसको भावी नीति तथा कार्यक्रमको मस्यौदा केन्द्रीय समितिबाट पारित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कावा सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बैठकले आसन्न १३औँ महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको मस्यौदा पारित गरेको हो । 
 
बैठकले पार्टीको भावी नीति तथा कार्यक्रममा केही नेताहरुले राखेका सुझावलाई समेटेर संशोधनसहित पारित गरेको केन्द्रीय सदस्य बालकृष्ण खाँडले जानकारी दिनुभयो । कार्यवाहक सभापति पौडेल नेतृत्वको समितिद्वारा बैठकमा प्रस्तुत मस्यौदामा धेरै केन्द्रीय सदस्यले सुझाव राखेको उहाँले बताउनुभयो । 
 
बैठकमा बोल्नेले कार्यान्वयन गर्न सकिने र अहिलेका लागि अत्यावश्यक विषयवस्तुलाई मात्रै राख्न सुझाव दिएपछि नेता पौडेलले संशोधन गर्नुभएको नेता खाँडले जानकारी दिनुभयो । बैठकमा अधिकांश पदाधिकारी एवम् सदस्यले मस्यौदामाथि आफ्ना धारणा राख्नुभएको थियो । मस्यौदामा संविधान कार्यान्वयन, तराई–मधेस आन्दोलन, समसामयिक राजनीतिलगायत अन्य विषयलाई समेटिएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बताउनुभयो । 
 
उहाँले मस्यौदामा तराईमा उठेका आन्दोलनलाई स्वशासन, आत्मसम्मान र पहिचानको संज्ञाका रूपमा उल्लेख गरिएको छ । मस्यौदामा तराई–मधेसको जनजीवन सुधारका लागि हुलाकी सडक निर्माण गर्ने, रेल्वे लाइनको स्थापना गर्ने, ग्रामीण सडकको सुधार गर्ने, उत्तर–दक्षिण लिङ्क रोड निर्माण गर्ने र नदी नियन्त्रण अनि वन व्यवस्थापन र पर्यावरण सुधार गर्नुपर्ने उल्लेख छ । 
 
त्यस्तै, आफ्नै नेतृत्वको सरकारको सक्रियतामा नेपालको संविधान जारी गरेको काँग्रेसले संविधान कार्यान्वयनमा पनि नेतृत्व प्रदान गर्ने सङ्कल्प गरेको छ । काँग्रेसले भविष्यमा आउने राष्ट्रिय चुनौतीको सामना गर्नसक्ने दूरदृष्टि, आँट र सङ्कल्पका साथ भावी कार्यनीति, नेतृत्व चयन र सङ्गठन निर्माणको कार्यदिशा निर्धारण गर्ने उल्लेख गरेको छ । 
 
संविधान कार्यान्वयनको नेतृत्व लिन काँग्रेस अलिकति पनि उदासीन रहँदा संविधानमा उल्लेख गरिएका लोकतान्त्रिक धाराको अपव्याख्या हुने र मुलुकलाई अलोकतान्त्रिक दिशातिर धकेल्ने प्रयास हुन सक्छ भन्ने आशङ्का गर्दै संविधान कार्यान्वयनका लागि दृढता र सङ्कल्प प्रदर्शन गर्ने नीति प्रस्ताव गरिएको केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिनुभयो । 
 
पार्टीले सीमाङ्कन, नामाङ्कन, प्रशासनिक व्यवस्थापनदेखि स्रोतसाधनको पहिचान, परिचालन र उपयोगसम्बन्धी ऐन, नियम र नीति निर्माणलगायतका बाँकी महत्वपूर्ण विषयको टुङ्गो लगाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने नीति लिएको छ । 
 
मस्यौदामा प्रजातान्त्रिक समाजवादको आदर्शलाई चरितार्थ गर्ने र बिपीले खडा गरेको धरातलमा अडिएर राष्ट्र हितलाई जोड दिई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्ने काँग्रेसको नीति हुने जनाइएको छ । काँग्रेसले आर्थिक पुनरात्थानका लागि कृषि, पर्यटन, ऊर्जा र मानव क्षमता विकासलाई अभियानका रूपमा प्राथमिकताका साथ अगाडि बढाउने जनाएको छ । 
 
त्यस्तै, भारत र चीनसँग विश्वसनीय र मैत्रीपूर्ण, सहयोगात्मक सम्बन्धबाट सन्तुलित सहकार्य गर्नु नेपालको परराष्ट्र नीतिको सर्वाधिक उच्च प्राथमिकता रहने मस्यौदामा उल्लेख छ । काँग्रेसले नेपालको आर्थिक, सामाजिक राजनीतिक रुपान्तरण गर्ने, सामाजिक न्याय र आर्थिक वृद्धिबीचको सन्तुलन कायम गर्ने, खाद्य सुरक्षा, ऊर्जा सुरक्षाजस्ता आधारभूत कुरा पूरा गर्ने मूल नीति भनेको छ । त्यस्तै, स्वास्थ्य, शिक्षा र खानेपानीलाई आधारभूत आवश्यकता मान्ने, आत्मनिर्भरताउन्मुख अर्थनीति अँगाल्ने तथा ज्ञान र प्रविधि विकाससहितको दिगो विकासमा जोड दिने मुख्य नीति रहने मस्यौदामा उल्लेख छ । 
 
महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम तयार पार्न काँग्रेसले कार्यवाहक सभापति पौडेलको संयोजकत्वमा ३५ सदस्यीय नीति तथा कार्यक्रम प्रस्ताव समिति गठन गरेको थियो । समितिमा भएको छलफलका आधारमा कार्यदलले मस्यौदा तयार पारेर केन्द्रीय समितिमा पेस गरिएको थियो । 
 
केन्द्रीय समितिबाट पारित नीति तथा कार्यक्रम महाधिवेशनबाट पारित भएपछि मात्रै पूर्ण हुनेछ । बैठकमा पार्टीका महामन्त्रीले महाधिवेशनमा पेस गर्ने प्रतिवेदनमाथि पनि छलफल भएको थियो । महामन्त्रीको प्रतिवेदन केन्द्रीय समितिले पारित गर्नु नपर्ने भए पनि छलफल गरेर महामन्त्रीलाई सुझाव दिइएको नेता गगन थापाले जानकारी दिनुभयो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ