कञ्चनपुर । नेपाली कांग्रेस कृष्णपुरका नेताहरुले कृष्णपुरको स्थानीय सरकार भ्रष्टाचार, आफन्त नातावाद र कृपावादमा लिप्त भएको आरोप लगाएका छन् । कांग्रेस कृष्णपुर एव पैवरी समितिले स्थानीय सरकारमा भण्डाफोर अभियान अन्तर्गत बिरोध गर्दै स्थानीय सरकार अनियमितता, आफन्तलाई प्रकृया मिचेर जागिर दिने र कमिसनको आँखडा बनेको आरोप लगाएका हुन् ।
कांग्रेस नेताहरुले चुनावका बेला जनतालाई दिएको बाचा समेत भुलेर कृष्णपुर नेतृत्व ठेकेदार र मतियारका पक्षपोषण गरिरहेको गम्भिर आक्षेप लगाएका छन् । बिरोध कोण सभामा बोल्दै नेपाल विद्यार्थी संघ कञ्चनपुरका अध्यक्ष टेक पाण्डेले कमिसन लिएर आफन्तलाई योजना दिएको बताए ।
उनले करबृद्धि गरेर जनतालाई मारमा पारेको टिप्पणी गरे । कांग्रेस निकट आदिवासी नेता झेली रानाले सरकारले गाउँमा भईरहेको चोरी, डकैती, अत्याचार रोक्न नसकेको बताउदै आर्थिक अनियमितमा लिप्त भएको आरोप लगाए । कांग्रेस युवा नेता हेमराज जोशीले स्थानीय सरकारले जनता लुटिरहेको बताए । उनले अनावश्यक करबृद्धि र आफन्तलाई प्रकृया मिचेर जागिर दिएको बताए ।
नेपाली कांग्रेस कृष्णपुरका नेता एव मेयरमा पराजित भएका हेमराज ओझाले नगर प्रमुखले बेथिति मच्चाएको आरोप लगादै सच्चिन आग्रह गरे । १८ बुँदे ज्ञापन पत्र बुझाउँदा समेत नगर प्रमुखले सुचनाको हक समेत उपलब्ध नगराएको आरोप लगाए । नेपाली कांग्रेसका सह–सचिव लेखराज जोशीले जनतालाई सेवा सुविधा दिनु साटो उल्टै आफ्नै सेवा सुविधामा जनप्रतिनिधी लिप्त रहेको बताए । उनले हरेक विकास निर्मणको काम गुणस्तरिय नभएको बताउदै विगतमा छनौट भएका योजना अधुरै रहेको बताए ।
कृष्णपुरका मेयर कर्ण हमालले कांग्रेसका नेताहरुले लगाएको पुरै आरोप निराधार भएको बताए । उनले नातावाद, कृपावाद र कुन कुन ठाँउमा भ्रष्टाचार भएको देखाउन समेत चुनौती दिए । मेयर हमालले प्राविधिक तर्फका कर्मचारी प्रकृया अनुसार भर्ना गरिएका र केही कार्यालयका लागि आवश्यक सहयोगी ज्यालादारीमा राखिएको बताए । कांग्रेसले अनियमितता बिरुद्ध संघर्ष गर्ने चेतावनी दिएको छ ।
विभिन्न आरोप लगाउनु प्रतिपक्षका लागि राजनीतिक संस्कार बनिसकेको उनको टिप्पणी छ । कांग्रेस माग गरेका सबै योजना लिखितै दिएको उनले बताए ।