काठमाडौं । नेपाल भुटानमा सम्पन्न साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको उपविजेतामै खुम्चिएको छ । भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा आइतबार राति भएको खेलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको हो ।
समुह चरणमा भोगेको हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रेको नेपाली टोली पुनः एकपटक बंगलादेशसँग नै महत्वपूर्ण खेलमा पराजित हुन पुग्यो। समुह चरणमा बंगलादेशले खेल २–१ ले जितेको थियो ।
पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा नै नेपाली टोलीले गोल खान पुग्यो ।
बंगलादेशका लागि एकमात्रै विजयी गोल खेलको ४९ औं मिनेटमा मसुरा परविनले गरिन्।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता नेपालकी रेखा पौडेल भइन् ।
सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोलन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
समुह चरणमा नेपालले पाकिस्तानमाथि १२–० को जित निकालेको थियो ।