काठमाडौं । चार वर्षपछि आयोजित शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेल बराबरीमा सकिएको छ । न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी बीचको खेल २–२ को बराबरीमा सकिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा भएको खेलमा एनआएटीले १२ औँ मिनेटमा रोजित पुडाशैनीको गोलबाट अग्रता लियो । सुरुवातमै गोल खाएपछि आर्मी दबाबमा आयो । ३८औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै आर्मीका सन्तोष तामाङले गोल गरे । पहिलो हाफ अघि खेल १–१ को बराबरीमा आयो ।
दोस्रो हाफपछि ६४औँ मिनेटमा एनआरटीका राजेश परियालले गोल गरे । निर्धारित ९० मिनेको खेल सकिएपछि ६ मिनेट थप गर्दा खार्मी आक्रामक भयो तर, एनआरटीका गोल रक्षक अजित प्रजापतिले आर्मीका थुप्रै प्रहार रोके । उनी पछि म्यान अफ द म्याच भए ।
आर्मीले एनआरटीका थुप्रै खेलाडीलाई लडायो । अतिरिक्त समयको खेल दर्शकका लागि नाटकीय बन्यो । एनआरटीले कर्नर प्रहार रोक्दा फाउल भएपछि आर्मीले अतिरिक्त समय सकिएपछि पनि मौका पायो ।
९८औँ मिनेटमा आर्मीका सन्तोष तामाङले पेनाल्टीमा गोल गरेपछि एनआएटीले पूरा तीन अंक पाएन । अंक बाड्न बाध्य भयो । अतिरिक्त समय सकिएकाे दुई मिनेटपछि पेनाल्टीमा गाेल भयाे र भयाे नाटकीय बराबरी ।
आइतबार संकटा क्लब र सरस्वती युवा क्लबबीच खेल हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि स्थगित हुँदै आएको ए डिभिजन लिग चार वर्षपछि आयोजना भएको हो । रेलिगेशन नहुने प्रावधानसहित सञ्चान गरिएको लिगमा १४ क्लबले करिब तीन महिना प्रतिस्पर्धा गर्नेछन् ।