श्रीलंका रन्थनियो, अफगानिस्तानसंग हार्दै बाहिरियो एसिया कपबाट
प्रकाशित २०७५ असोज २ मंगलबार
210
Shares
काठमाडौं । सन् १९९६ को विश्वकप विजेता श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । लगातार दुई खेल हार्दै श्रीलंका बाहिरिएको हो । पहिलो खेलमा बंगलादेशसंग हारेको श्रीलंकाले दोस्रो खेलमा अफगानिस्तानसंग पनि हार बेहोरेसंगै बाहिरिएको हो ।
युएईमा भइरहेको प्रतियोगितामा सोमबार रातिको खेलमा श्रीलंका अफगानिस्तानसंग ९१ रनले पराजित भयो ।
२५० रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको श्रीलंकाले ४१.२ ओभरमा १५८ रन मात्र बनाएर आउट भयो । उपुल थरंगाले सबैभन्दा बढी ३६ रन बनाए । शानदार बलिङ गरेको अफगानिस्तानका लागि रसिद खान, मोहम्मद नाबी, गुल्बदिन नाबी र मुजिब उर रहमानले २–२ विकेट लिए ।
यसअघि अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै २४९ रन बनायो ।
रहमत शाहले ७२ तथा ईन्सानुल्लाह जनतले ४५ रनको योगदान दिए । थिसरा परेराले ५ विकेट लिए ।
हारसंगै श्रीलंका बाहिरिने पहिलो टिम बनेको छ । यो समूहबाट अफगानिस्तान र बंगलादेश आपसमा खेल्नुअघि नै सुपर फोरमा पुगेका छन् ।
अर्को समूहबाट भारत र पाकिस्तान सुपर फोरमा पुग्ने निश्चित छ । अर्को टिम हङकङले कमजोर प्रदर्शन गरिरहेको छ ।