arrow

प्रधानमन्त्री ओली भारत भ्रमणः विदेश नीतिका पाँच नयाँ आधारमा केन्द्रित

logo
प्रकाश सिलवाल
प्रकाशित २०७२ फागुन ६ बिहिबार
Oli-and-Modi.jpg.jpeg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणका क्रममा राष्ट्रियतालाई सर्वापरी हितमा राखी विदेश नीतिका पाँच नयाँ आधारलाई जोड दिनुहुने भएको छ।
 
यही फागुन ७ गतेदेखि पाँचदिने राजकीय भ्रमणमा भारत जान लाग्नुभएका प्रधानमन्त्री ओलीले कुनै मुलुकको परनिर्भरतामा नभई नेपालको राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राख्न ती पाँच आधार अघि सार्नुभएको हो।
 
प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालका अनुसार राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र स्वाधीनता, मुलुकको हित र द्विपक्षीय लाभका आधारमा आपसी प्रधानमन्त्री ओलीले भारतीय पक्षसँग संवाद गर्नुहुनेछ। प्रधानमन्त्री ओली आगामी दिनमा अर्का छिमेकी मुलुक चीनमा जाँदा पनि सोही पाँच आधारलाई केन्द्रमा राखिने भएको छ।
 
खनालले प्रधानमन्त्री ओलीले अघि सारेका ती पाँच आधार मुलुकको स्वाधीनताका दृष्टिले नयाँ र बलिया भएको बताउँदै त्यसकै आधारमा दुई देशबीचको सम्बन्धलाई सुधार गरी नयाँ आयाम थप्ने काम हुने जनाउनुभयो।
 
संविधान जारी भएपछि तराई–मधेसमा आन्दोलन भएको र भारतको समेत असन्तुष्टिका कारण सीमामा नाकाबन्दी भएको तीतो यथार्थकाबीच प्रधानमन्त्री ओलीले नेपाल भूपरिवेष्टित मुलुक भएका नाताले त्यसका आधारमा आफ्नो पारवहन अधिकारको वकालत गर्दै आउनुभएको थियो।
 
सो विषयमा भारतसँगको निरन्तर कूटनीतिक पहल र मधेसी मोर्चासँगको वार्ता तथा जनस्तरको दबाबका कारण अघोषित नाकाबन्दी हटेपछि प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लाग्नुभएको हो ।
 
दुई प्रधानमन्त्रीसँगको संवाद नै मुख्य कार्यसूची
प्रधानमन्त्री ओलीको भारत भ्रमणको कार्यसूचीबारे अहिलेसम्म सरकारबाट औपचारिक जानकारी दिइएको छैन। सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मङ्गलबारको मन्त्रिपरिषद्को बैठकमा पनि त्यसबारे विस्तृत छलफल नभएको बताउनुभयो। मन्त्रिपरिषद्का एक सदस्यका अनुसार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच हुने ‘वान टु वान’ वार्तामा हुने छलफल नै भ्रमणको मुख्य कार्यसूची हुनेछ । भ्रमणका अवसरमा ठोस सन्धि सम्झौता हुने तयारी देखिएको छैन ।
 
भ्रमणबारे एमाले स्थायी समितिलाई जानकारी
प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणबारे आज नेकपा (एमाले) को स्थायी कमिटीलाई जानकारी गराउनुभएको छ। प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष ओलीले नयाँ सरकार गठनपछि भारतसँगको सम्बन्ध सुधार भएको, आपसी असमझदारी हटेको र भ्रमणका क्रममा थप सम्बन्ध सुधारको पहल हुने जानकारी गराउनुभएको छ।
 
बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘नेपाल भारत परिवेष्टित होइन। भूपरिवेष्टित मुलुक हो। नेपालको असंलग्न परराष्ट्र नीतिअनुसार हामी सबै छिमेकी र अन्य मुलुकसँगको सम्बन्ध विस्तारमा लाग्नेछौं।’’
 
एमाले केन्द्रीय सचिवालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनतालाई ध्यानमा राखेर दुईपक्षीय हितका विषयमा भारतसँग छलफल हुने बैठकलाई जानकारी गराउनुभएको थियो। 
 
 
प्रधानमन्त्री ओली फागुन ७ देखि साताव्यापी भारत भ्रमण थाल्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही फागुन ७ देखि १२ गतेसम्म भारतको राजकीय भ्रमण गर्नुहुने भएको छ ।
 
प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुुहुनेछ । प्रधानमन्त्री नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा राजकीय पाहुनाका रुपमा बस्नु हुनेछ । प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल हुनुहुनेछ।
 
यसैगरी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापिका–संसद्का सदस्यहरु, नेपाल सरकारका मुख्यसचिव र सचिवहरु तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधिहरु पनि भ्रमण दलमा रहेका छन् ।
 
प्रधानमन्त्री ओली फागुन ७ गते भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले ६६‌‌औ राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजना गर्नुहुने स्वागत कार्यक्रममा सरिक हुनुहुनेछ ।
 
भ्रमण कार्यक्रमअनुसार प्रधानमन्त्री ओली फागुन ८ गते राष्ट्रपति भवनमा हुने विशेष स्वागत समारोहमा सरिक हुनुहुनेछ र उहाँले सेनाको सलामीको निरीक्षण गर्नुहुनेछ । त्यसपछि उहाँले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धान्जलि अर्पण गर्नुहुनेछ । सोही दिन प्रधानमन्त्री ओलीले हैदरावाद भवनमा भारतीय प्रधानमन्त्रीसँग आपसी हितका विषयहरुमा औपचारिक बैठक गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग भेटवार्ता गर्नुहुनेछ । भारत सरकारका केही वरिष्ठ सदस्यहरुले पनि प्रधानमन्त्री ओलीसँग भेटघाट गर्नु हुनेछ ।
 
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले सप्रु भवनमा आयोजना हुने भारतीय विश्व सम्बन्ध परिषद्का साथसाथै भारतीय व्यापारिक समुदायको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।
 
प्रमुख भारतीय सञ्चार माध्यम र नेपाली समुदायसँगको एउटा अन्तक्र्रिया कार्यक्रममा पनि उहाँ सहभागी हुनुहुनेछ ।
 
प्रधानमन्त्री ओलीले उत्तराखण्डको तेहरी जलस्रोत परियोजनाको पनि निरीक्षण गर्नुहुनेछ । त्यसैगरी, उहाँले गुजरातको भुज पुगेर त्यहाँ भूकम्पपछि थालिएको पुनःनिर्माणका कार्यहरुबारे जानकारी लिनुहुनेछ । उहाँले महाराष्ट्र राज्य मुम्बईका प्रतिष्ठित व्यापारीहरुसँग पनि भेटघाट गर्नुहुनेछ । उहाँको फागुन १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 
 
प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे भारतीय नेताको भनाइ
प्रधानमन्त्री केपी शर्मा ओलीको ऐतिहासिक भारत भ्रमणले नेपाल–भारतबीचको सम्बन्ध झन प्रगाढ हुने विश्वास भारतीय जनता पार्टी (भाजपा) का नेताले व्यक्त गरेका छन् ।
 
उनीहरुले केही दिनयता नेपाल–भारतबीच देखिएको तिक्तता समाप्त भएर जाने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीको दिल्लीमा स्वागत गर्न भारतीय सरकार लालायित रहेको प्रतिक्रिया दिएका छन् ।
 
सीतामढी जिल्लाको व्यापारी केन्द्र सुरसण्ढस्थित आफ्नै निवासमा आज रासससँग कुरा गर्दै भाजपाका राष्ट्रिय सदस्य मनिषकुमार गुप्ताले नेपाल–भारतबीच बेटीरोटीको सम्बन्ध भएकाले प्रधानमन्त्री ओलीको यो भ्रमणले झन दुवै देशबीच सम्बन्धमा गतिशीलता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
 
उहाँले अरु देशले नेपाल–भारतबीच जुन दूरी ल्याएका छन्, त्यो दूरी प्रधानमन्त्री ओलीको भ्र्रमणले समाप्त भएर जाने विश्वास व्यक्त गर्नुभयो ।
 
भाजपाका समर्थक श्यामशङ्करलाल कर्णले प्रधानमन्त्री ओलीको भारत भ्रमणले एकअर्काप्रति रहेको मतभेद समाप्त भई दुवै देशको सम्बन्ध अझ बलियो हुने बताएका छन् ।
 
ढिलो भए पनि प्रधानमन्त्री ओलीको यो भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै भाजपा नेता कर्णले भन्नुभयो– “यो भ्रमणले नेपालमा भइरहेको गृह कलह पनि समाप्त भएर जानेछ ।
 
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणलाई सकारात्मक रुपमा लिँदै सीमावर्ती भारतीय बजारका व्यापारीले खुसी व्यक्त गर्दै यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउनेछ ।”
 
प्रधानमन्त्री ओलीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार, सीमा क्षेत्रमा देखिएको समस्यामा सुधार तथा दुई देशका नागरिकबीचको पारस्पारिक सम्बन्धमा सुधार आउने जयनगर ‘चैम्बर्स अफ कमर्श’का महासचिव अनिलकुमार बैलोरियाले बताउनुभयो ।
 
उहाँले दुई देशका प्रधानमन्त्रीले आपसी सम्बन्धलाई कायम राख्दै पारवहन सुविधा, सीमा क्षेत्रका बासिन्दाको आवतजावतमा सुविधा सटही काउन्टरको सुविधालाई विशेष प्राथमिकता दिनुपर्ने विश्वास व्यक्त गर्नुभयो ।
 
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणलाई लिएर सीमावर्ती भारतका नेता तथा व्यापारीले जुन खुसी व्यक्त गरेका छन् । त्यही खुसी जनकपुरका व्यापारीले पनि गरेका छन् ।
 
प्रधानमन्त्री ओलीको भारत भ्रमणले लोकतन्त्रको स्थायित्व र विकासका लागि कोसेढुङ्गा सावित हुने भन्दै होटल व्यवसायी महासङ्घका केन्द्रीय सदस्य विजय झुनझुुनवालाले भने यस भ्रमणले राष्ट्र तथा जनताको हीत हुने भएकाले यो भ्रमण स्वागतयोग्य रहेको छ । उहाँले प्रधानमन्त्री ओलीको भारत भ्रमणले देशमा विकासको गति अगाड् िबढी देश आर्थिक समुन्नततर्फ बढ्ने विश्वास गर्नुभयो ।
 
जनकपुरका व्यापारी एकै स्वरमा भन्छन्– “प्रधानमन्त्री ओलीको भारत भ्रमणले जलस्रोत, सडक निर्माण, सीमा क्षेत्रको गाउँ, सहरको विकास, हुनुका साथै नेपाल जलविद्युत् पष्ििरयोजनामा ब्राजिल जस्तो बन्नसक्ने विश्वास व्यक्त गरेका छन् ।”
 
उहाँहरुले यो भ्रमणले नेपाल–भारतबीच देखिएको तिक्तता समाप्त भई पञ्चशीलका आधारमा दुवै देशबीचको सम्बन्धमा सुधार आउनेछ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ